मकवानपुरको १० वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

तु खबर संवाददाता
२०७९ बैशाख ८,बिहीबार ११:४१

मकवानपुर । स्थानीय तह निर्वाचनका लागि हेटौंडामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठ तथा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको उपस्थितिमा कार्यालय स्थापना गरिएको हो ।

वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनका लागि देशभर एकैपटक कार्यालय स्थापना गरिएको हो । जिल्लाको दशवटै स्थानीय तहमा कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृतहरू नियुक्तिपत्र लिएर पालिकास्तरमा खटिइसकेका छन् । हरेक जिल्लामा एक जना मुख्य निर्वाचन अधिकृत हुन्छन् ।

कार्यालय स्थापना गर्दा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय, अन्य कुनै सरकारी कार्यालय र सरकारी स्वामित्वमा रहेको कार्यालयको भवन प्रयोग गर्नुपर्ने सर्त निर्वाचन आयोगले तोकेको छ । सरकारी भवन उपलब्ध नभए मात्र भाडाको घर लिनुपर्ने हुन्छ । निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, सहायक कर्मचारी, लेखापाल, कम्प्युटर अपरेटर, सवारी चालक, कार्यालय सहयोगी, पीएसओ (निजी सुरक्षा अधिकारी) सहित नौ जना कर्मचारी रहनेछन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पनि नौ जनै कर्मचारी रहने जनाइएको छ ।