बुटवलमा पत्रकार पन्थीको ‘जिरो माइल’ को चर्चा
बुटवल । खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा अमेरिकी अध्यागमनका विषयमा नेपाली भाषामा लेखिएको पुस्तक ‘जिरो माइल’को शनिवार एक कार्यक्रमका बीच बुटवलमा चर्चा गरिएको छ ।
बुटबलमा ‘जिरो माइल’ पुस्तकको चर्चा गदै सहभागिहरुले अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि पुस्तक फलदायी हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै लेखक किशोर पन्थीले अमेरिकाको अध्यागमन कानूनको बारेमा सही जानकारी नहुँदा कैयौँ व्यक्तिले समस्या भोग्नु परेको र कैयौँ व्यक्ति दलालको फन्दामा परेर मानव तस्करीको शिकार समेत हुने गरेकाले उनीहरुलाई समेत पुस्तकले सही जानकारी प्रदान गर्ने बताए । उनले पुस्तकमा अध्यागमनबारे मात्र नभई आप्रवासीहरुले ध्यान दिनुपर्ने अन्य विषयहरुमा समेत टिप्सहरु समावेश गरेको जानकारी दिए ।
अमेरिकाको जटिल अध्यागमन कानूनलाई सरल तरिकाले व्याख्या गरेको हुँदा पाठकलाई बुझ्न निकै सजिलो रहेकोे लेखक पन्थीले बताए । अमेरिका विश्वभरका आप्रवासीहरुको आकर्षक गन्तव्य रहेकाले जिरो माइलका रुपमा रहेको र अमेरिकाबाट आप्रवासीहरुको नयाँ यात्रा समेत सुरु हुने भएकाले पनि जिरो माइलका रुपमा रहेकाले पुस्तकको नाम जिरो माइल राखिएको उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भबानी प्रसाद पाण्डेले ‘जिरो माइल’ अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि जानकारीहरु समेटिएको पुस्तक रहेको बताएका थिए । कार्यक्रममा पत्रकार सुमन अधिकारी, मनिकर कार्की , अमृता अनमोल, बिष्णु घिमिरे, रामप्रसाद आचार्य, गुनाराम घिमिरे लगायतले बोल्दै अमेरिकाको अध्यागमन कानूनबारे उत्सुकहरुका लागि पुस्तक फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
खसोखासका प्रधानसम्पादक तथा लेखक किशोर पन्थीद्वारा लेखिएको पुस्तक ‘जिरो माइल’को लोकार्पण उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसालले केही दिन अघि काठमाडौमा गरेकी थिइन् । यसअघि पन्थीको पहिलो पुस्तक कम्पन बजारमा आईसकेको छ । नेपालको गुल्मीमा जन्मेका किशोर पन्थी १२ बर्षदेखि न्यूयोर्कमा रहेर पत्रकारिता गर्दै आएका छन् ।