मकवानपुरका पत्रकार श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार

तु खबर संवाददाता
२०७९ बैशाख २५,आईतवार ०९:१०

मकवानपुर । हेटौंडा चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले मकवानपुरका पत्रकार श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले आगामी जेठ ७ गते पर्ने चलचित्र पत्रकारिता दिवसको अवसरमा मोफसलमा एक दशक भन्दा लामो समयदेखी चलचित्र पत्रकारिता गर्दै आएका अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गर्ने निर्णय गरेको महासचिव समिर बलामीले जानकारी दिए ।

२०६६ सालमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाका कार्यसमिति सदस्य बनेका श्रीराम अर्जुन हाल संघको सचिव रहेका छन् । उनले दुई कार्यकाल सचिव भई कार्यसम्पादन गर्दै आइरहेका छन् । स्थानीय पत्रिकामा चलचित्र पत्रकारिता सुरु गर्दै आएका अर्जुनले लामो समय फिल्मी खबर साप्ताहिकका लागि हेटौंडाबाट काम गरेका थिए । उनी हाल हेटौंडाबाट सञ्चालित सिधाखबर डटकम, इमेज च्यानल र हिमालय टाइम्सको मकवानपुर संवाददाताको रुपमा कार्यरत छन् ।

विभिन्न सामाजिक संघसंस्थाका आवद्ध रहेका उनले हेटौंडामा चलचित्र पत्रकारिता पुरस्कार २०७३ लगायत विभिन्न सहकारी तथा सामाजिक संघसंस्थाहरुबाट सम्मान तथा पुरस्कृत प्राप्त गरेका छन् । संघले उनीसँगै चलचित्र पत्रकारिता सम्मान २०७७ बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल), चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७७ बाट भने रीना मोक्तानलाई प्रदान गरिने गर्ने भएको छ ।

त्यस्तै, चलचित्र पत्रकारिता सम्मान २०७८ बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट कुमार आचार्य र गीता अधिकारी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८ बाट मनोज न्यौपाने र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८ बाट पोखराका रेम विक रहेको बलामीले बताए ।

त्यस्तै, संघले चलचित्र पत्रकारिता सम्मान २०७९ बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट नेमिष गौतम र विष्णुप्रसाद सुवेदी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९ बाट उद्दव रसाइलीलाई प्रदान गरिने भएको छ ।