विद्यालयमा अब ३० दिनमात्रै वार्षिक विदा हुने
काठमाडौं । सरकारी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक विदा हुने भएको छ । शिक्षा मन्त्रालयले शनिबार र आइतबार गरी दुई दिन विदा दिने निर्णय गरेसँगै हिउँदे विदा, वर्षे विदा, स्थानीय विदा वा पर्व विदाहरुलाई कटौती गरी ३० दिन मात्रै वार्षिक विदा दिने निर्णय गरेको हो ।
यसअघि सरकारी विद्यालयहरुमा हिउँदे र वर्षे विदा गरी कुल ४५ दिन र स्थानीय पर्व विदा ५ दिन गरी कुल ५० दिन विदा पाउने व्यवस्था थियो । अब यी सबै विदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाउन सर्कुलर जारी गरिएको छ । मन्त्रालयको बुधबार बसेको बैठकले आगामी जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो ।