मदिरा सेवन गरेका मतदाताले मतदान गर्न नपाउने, नमूना मतपत्र लैजान निषेध

तु खबर संवाददाता
२०७९ बैशाख २९,बिहीबार ०८:५३

मकवानपुर । निर्वाचन आयोगले मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश निषेध गरिने जनाएको छ । मदिरा सेवन गरेका मतदाताले मतदान प्रक्रियामा बाधा पुर्याउने भन्दै आयोगले त्यस्ता मतदातालाई मतदान प्रक्रियामा सहभागी हुन रोक लगाउने भएको हो ।

मदिरा सेवन गरे वा नगरेको भनेर प्रहरीले ब्रेथलाइजरको प्रयोग गर्ने उनले बताए । मादक पदार्थ खाएका व्यक्ति मतदाता नै भए पनि मतदान केन्द्रमा प्रवेश नदिइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदाताले मादक पदार्थ सेवन गरेर भोट हाल्न गएकालाई मतदान केन्द्रमा प्रवेश नदिन मतदान अधिकृतलाई भनेको हो ।

त्यस्तै मतदान केन्द्र भित्र क्यामेरा र मोवाइल प्रयोगमा प्रतिबन्ध लगाइएको छ । मतदान केन्द्रभित्र खटिएका प्रतिनिधि र मतदाता समेतले मोवाइल प्रयोग गर्न नपाउने मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

मतदान केन्द्रमा प्रज्ज्वलनशील पदार्थ, कुनै प्रकारको हातहतियार, नमूना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने वस्तुपनि लग्न पाइने छैन । आयोगले मतदान केन्द्रमा निषेधित गतिविधि भए कारबाही गर्ने जनाएको छ ।

मतदानको दिन वैशाख ३० गते मतदान केन्द्र भित्र मतदाता, उम्मेदवार वा उम्मेदवारका एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमति पाएका पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति मतदान स्थलमा प्रवेश गर्न पाउनेछन् । यस्तै, महिला मतदाताको साथमा पाँच वर्षसम्मका बालक, दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि आएका एका घरका परिवारलाई मात्र प्रवेश गर्न दिने आयोगले स्पष्ट पारेको छ ।