वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका दिपेश चौधरी प्रथम

तु खबर संवाददाता
२०७९ जेष्ठ २१,शनिबार ०९:१९

मकवानपुर । ५० औं विश्व वातावरण दिवस तथा सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसरमा शुक्रबार हेटौंडामा वक्तृत्वकला प्रतियोगिताको आयोजना भएको छ । उक्त प्रतियोगिता सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय, मकवानपुरको सहयोमा भएको हो ।

‘वातावरण संरक्षणमा विद्यार्थी र समुदायको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका दिपेश कुमार चौधरी प्रथम भएका छन् । यस्तै, बंशगोपाल माविकी रोजा सुवेदी द्धितिय, ज्ञानदा माविकी जिनुका यादव तृतीय र अरनिको माविकी जेनिसा अर्याल सान्त्वना भएका थिए । उनीहरुलाई क्रमशः २ हजार रुपैयाँ, १ हजार ५ सय रुपैयाँ, १ हजार रुपैयाँ र ५ सय रुर्पैयाँ नगदसहित प्रमाणपत्र प्राप्त भएको छ ।

प्रतियोगितामा १३ वटा सामुृदायिक विद्यालयका २६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशका सचिवालय सदस्य रामहरि चौलागाई, डिभिजन वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्मा र हेटौंडा उपमहानगरपालिका वातावरण शाखा प्रमुख शान्ति विकले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रम डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाको प्रमुख आतिथ्यता एवम् सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा भएको हो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारी, स्थानीय महासंघ, हेटौंडाका अध्यक्ष शम्भुप्रसाद न्यौपाने, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, भैरबडाँडा सामुदायिक वनका अध्यक्ष उत्तमप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।