निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

काठमाडौं । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बुधबार एक सूचना जारी गर्दै विद्यार्थीसँग आवेदन माग गरेको हो ।
केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाड्नका लागि आवेदन माग गरेको हो । सरकारले काठमाडौं बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका विद्यार्थीलाई एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहतको महसुस गराउन र विद्युतीय चुलोको प्रवद्र्धन गर्न चुलो वितरण गर्न थालेको हो ।
आवेदन दिन नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवम् दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपि बुझाउनुपर्नेछ । त्यसको लागि आगामी असार ९ गतेसम्म समय तोकिएको छ ।