कांग्रेस मकवानपुरद्वारा मृगौला रोगी प्रजाको उपचार गर्ने प्रतिवद्धता
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले काँकडा निवासी मृगौला रोगी रामकृष्ण प्रजा चेपाङको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा र सचिव भीमसेन महतले प्रजाकै निवासमा पुगेर उपचारको लागि लाग्ने सबै खर्च आफुहरुले जुटाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
४६ बर्षका चेपाङको आर्थिक अभावका कारण उपचार हुन समस्या भइरहेको थियो । कांग्रेसले उपचारको जिम्मा लिने प्रतिवद्धता जनाएपछि प्रजा परिवार खुसी भएका छन् । प्रजा लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । उनी २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट राक्सिराङ गाउँपालिका वडा न. ८ को अध्यक्षमा निर्वाचित भई गाउँपालिकाको प्रवक्तासमेत भएका थिए ।
चेपाङ समूदायको हक अधिकारको लागि लड्दै आइरहेका प्रजा आर्थिक अभावका कारण अहिले मृत्युसँग लडिरहेका छन् । उनलाई मृगौला रोग लागेको र आर्थिक अभावका कारण उपचारमा कठिनाई भएको थाहा पाउनासाथ आफुहरु पुगेर सहयोगको प्रतिवद्धता व्यक्त गरेको र चाँडै आर्थिक संकलन गरी उपचारका लागि पठाइने कांग्रेस मकवानपुरका सभापति लामाले बताए ।
प्रजा निवासमा कांग्रेस बागमती प्रदेश सदस्य चम्पुरत्न लामा, नेता भरत पराजुलीलगायतको उपस्थिति रहेको थियो ।