कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनलाई दिने
काठमाडौं । सरकारले कक्षा ११ र १२ को पाठ्यपुस्तक साझा प्रकाशनलाई छाप्न दिने भएको छ । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सो बारे जानकारी गराएका हुन् ।
यसअघि कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छाप्ने गरेको थियो । यस वर्ष भने कक्षा १–३ को पाठ्यपुस्तक निजी प्रकाशकबाट र कक्षा ११–१२ को साझा प्रकाशनमार्फत समेत छपाइ तथा वितरण हुने व्यवस्था मिलाइएका मन्त्री पौडेलले जानकारी दिए ।
कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मा निजीलाई दिएकामा उसले पुस्तक छापिसकेको छ । जनक शिक्षाले ४ देखि १० कक्षासम्मको पुस्तक छपाइ अहिलेसम्म पनि नसकेको भन्दै मन्त्री पौडेलले यसवर्षको ११–१२ को पुस्तक छपमईको जिम्मा साझा प्रकाशनलाई दिएको बताए ।
जनक शिक्षाको छापाखानाले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ गर्नुपरेको र रुस युक्रेन युद्धका कारण कागज अभाव भएको कारण पुस्तक छपाइम ढिलाइ भएको जानकारी गराउँदै आएको छ ।