सवारी चालक अनुमति पत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था

तु खबर संवाददाता
२०७९ असार ८,बुधबार १६:१७

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदनबारे नयाँ व्यवस्था गरेको छ । विभागले अनलाइन आवेदन प्रणालीमा एउटै आवेदनकर्ताले फरक–फरक माबाइल नम्बर प्रयोग गरी एकभन्दा बढी प्रोफाइल बनाई आवेदन फाराम भरेको पाइएपछि नयाँ व्यवस्था गरेको हो ।

नयाँ व्यवस्था अनुसार, अब एउटा मोबाइल नम्वर र नागरिकता नम्वरबाट एउटा मात्र अनलाइन प्रोफाइल बनाउन सकिने गरी व्यवस्थापन गरिएको विभागले सूचनामार्फत जानकारी दिए । अनलाइन प्रोफाइल बनाउने क्रममा नाम, ठेगाना, नागरिकताको विवरण, सवारी चालक अनुमतिपत्रको विवरण लगायतका विवरण भर्दा त्रुटि भएमा आफूले आवेदन गरेको वा गर्न चाहेको नजिकको यातायात व्यवस्था कार्यालयमा गई त्रुटिपूर्ण विवरण हटाउन लगाई पुनः आफ्नो विवरण गर्न पनि विभागले सूचित गरेको छ ।

प्रत्येक दिन बिहान ७ बजे १६ औं दिनको लागि आवेदन खुल्ला हुने भएकोले समय व्यवस्थापन सोही बमोजिम गर्न पनि विभागले अनुरोध गरेको छ ।