एमालेसँग ३ बुँदे सहमति भएपछि सुरु भयो हेटौंडाको नगरसभा

तु खबर संवाददाता
२०७९ असार १२,आईतवार १६:३६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको नगरसभा आइतबार सुरु भएको छ । दिउँसो १ बजेको लागि आह्वान गरिएको नगरसभा केही घण्टा ढिलो गरी सुरु भएको हो । मकवानपुरका ९ वटै पालिकाहरुले असार १० गते नै गाउँ तथा नगरसभामार्फत् आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेका छन् । हेटौंडा उपमहानगरपालिकामा भने नेकपा एमालेको अवरोधका कारण नगरसभा स्थगित भएको थियो । उपमहानगर प्रमुख मीनाकुमारी लामा र उप– प्रमुख राजेश बानियाँले आइतबार एमालेसँग गरेको छलफलमा तीन बुँदे सहमति भएसँगै नगरसभा सुरु भएको हो ।

एमाले सम्बद्ध ५४ जना सदस्यले पेश गरेको संशोधन प्रस्ताव नगर सभापछि कानूनी परामर्श गरी प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । त्यस्तै, विषयगत समितिहरु बहुमत सदस्य रहेको एमालेसँग छलफल गरी सहमतिको आधारमा निर्माण गर्ने र बजेट निर्माणमा सामूहिक छलफलबाट निर्णय गर्ने सहमति भएको छ ।

अहिले उप–प्रमुख बानियाँले आगामी आवको लागि उपमहानगरपालिकाले तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । उपमहानगरपालिकाले पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगार, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।