हेटौंडा उपमहानगरपालिकाः हेर्नुहोस् नीति तथा कार्यक्रमको पूर्णपाठ
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नगरसभाबाट उप–प्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरेका हुन् ।
उपमहानगरपालिकाले आगामी आवको लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय २० रुपैँयाको बजेट ल्याएको छ । बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ १ अर्ब ८ करोड ४२ लाख रुपैँया विनियोजन भएको छ । वन तथा वातावरणतर्फ १२ करोड ६ लाख ८० हजार र शुसासन तथा संस्थागत विकासतर्फ ७ करोड ३३ लाख ५० हजार रुपैँया बजेट विनियोजन भएको छ ।
त्यस्तै विविध कोषतर्फ ९९ लाख तथा बागमती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाको लागि ६ करोड ३ लाख ७० हजार रुपैँया विनियोजन भएको उप–प्रमुख बानियाँले उल्लेख गरेका छन् । नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, रोजगार, कला संस्कृति, सूचना तथा सञ्चारलगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।