रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी कार्यशाला सम्पन्न
मकवानपुर । एस्ट्रोनोभा फाउन्डेशन नेपालले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यले आयोजना गरेको रोबटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्यूचर टेक्नोलोजी र एष्ट्रोनोमीसम्बन्धी ११ दिने कार्यशाला सम्पन्न भएको छ । आइतबार समापन समारोहमा बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कार्यशालामा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिन् ।
समारोहलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले विज्ञान र प्रविधिको क्षेत्रमा इच्छा राख्ने विद्यार्थीलक्षित कार्याशाला आयोजना गरेको भन्दै आयोजकप्रति धन्यवाद व्यक्त गरिन् । उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि युवा बैज्ञानिकहरुका लागि प्रोत्साहन कार्यक्रम अघि सारेको उल्लेख गरिन् । विद्यार्थीहरुमा बैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील क्षमताको विकासमा मद्धत पुयाउने उद्देश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको र यसले वैज्ञानिक सोच बोकेका नयाँ पुस्ता लाभान्वित हुने उनको भनाई थियो ।
त्यस्तै फाउण्डेशनका अध्यक्ष किशन बास्तोलाले विद्यार्थीहरुको बृद्धि विकासमा कार्यशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गरे । ‘आजको विद्यार्थी भोलिको समाधान हुन् । उनीहरुलाई समस्या समाधान गर्ने, पढाइलाई व्यवहारिक सिकाइमा रुपान्तरण गर्दै उनीहरुको सामाजिक, आर्थिक अवस्थालाई माथि उकास्ने लक्ष्य राखेर हामीले कार्यशाला आयोजना गरेका हौँ । सिकाइको विषयमा शिशु अवस्थादेखि जुनसुकै उमेर समूहका व्यक्ति मात्र नभई सिङ्गो समाज रुपान्तरणको लागि काम गर्ने हाम्रो योजना हो ।’ उनले भने ।
कार्यशालामा विद्यार्थीहरुलाई फिजिक्सतर्फ, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोभेल विजेता बैज्ञानिकहरुले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवरोकन, ब्लाक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल/जनरल) को बारेमा जानकारी गराइएको थियो । त्यस्तै इन्बेडेड सिस्टम तथा रोबटिक्स अन्तरगत सि प्रोग्रामिङ्,ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेशन सिस्टम, बेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डसवीन), अबस्ट्याकलमा आधारित भएर सहभागिहरुलाई जानकारी दिइएको थियो ।
त्यस्तै फ्यूचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्यूटिङ, साइबर सेक्यूरिटी, आर्गुमेन्टेड रियालिटी र भर्चुअल रियालिटी, डाटा सेक्युरिटीका साथै लैङ्गिीक तथा अल्पसंख्यकसम्बन्धी चेतना प्रदान गरिएको थियो । विद्यार्थीहरुलाई हेटौंडा आसपासका विभिन्न क्षेत्रमा लगेर प्राकृतिक वातारणमा सिकाइ क्रियाकलाप संचालन गरिएको थियो । समारोहमा उत्कृष्ठ विद्यार्थीलाई विभिन्न विद्याका पुरस्कारसमेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नारायणी कलेजका फाउन्डर दिपक काफ्ले,मनोज कुमार यादव, गुल्मपती अमृत खड्का, एस्ट्रोबोटक नेपालका अध्यक्ष उपेन्द्र ढुङ्गाना, फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीका अध्यक्ष धिरेन्द्रचन्द सोडारी, कार्यकारी निर्देशक ई–बिकि महत, पवन भट्ट, नेपाल पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य बलराम पुडासैनी, गोपी बञ्जारा, सफल अधिकारी, आँचल शर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई रामप्रसाद पण्डितले सहजिकरण गरेका थिए ।