देशभरका ७५३ मध्ये २५३ स्थानीय तहको मात्रै बजेट सार्वजनिक

काठमाडौं । देशभरका २५३ वटा स्थानीय तहले मात्रै आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट सार्वजनिक गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १४ गते मंगलबारसम्म ७५३ स्थानीय तहमध्ये २५३ वटा स्थानीय तहले मात्रै बजेट ल्याएको जनाएको छ ।
संविधानतः आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको असार १० गतेभित्र ल्याइसक्नुपर्ने कानुनी व्यवस्था रहे पनि अझै ५०० स्थानीय तहले हालसम्म बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउने र कार्यान्वयन गर्ने पक्षमा सबैभन्दा कमजोर मधेश प्रदेश देखिएको छ ।
आगामी आजका लागि हालसम्म मधेश प्रदेशका जम्मा ३० वटा (२२.१ प्रतिशत) स्थानीय तहले मात्र बजेट ल्याउन सकेका छन् भने कुल ७५३ स्थानीय तहहरुमध्ये मधेश प्रदेशमा १३६ पालिकाहरु रहेका छन् । यस्तै, प्रदेश १ बाट हालसम्म ५१ स्थानीय तहले बजेट ल्याइसक्दा ८६ वटाले ल्याउन सकेका छैनन् । बागमती प्रदेशबाट कुल ११९ स्थानीय तहहरुमध्ये ३९ वटाले बजेट ल्याउँदा ८० वटा तहले ल्याएका छैनन् ।
यसैगरी, गण्डकी प्रदेशबाट ४४ वटा स्थानीय तहले बजेट ल्याउँदा ४१ वटाले ल्याएको छैन । लुम्बिनी प्रदेशबाट ३९ वटा तहले बजेट ल्याउँदा ७० वटाले बजेट ल्याएका छैनन् । यस्तै,कर्णाली प्रदेशका ७९ स्थानीय तहहरु मध्ये २३ वटा तहले बजेट ल्याउँदा ५६ वटाले ल्याउन सकेका छैनन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट २७ वटा स्थानीय तहले बजेट ल्याउँदा ६१ वटाले ल्याउन नसकेको मन्त्रालयले जनाएको छ ।