नेप्से झिनो अंकले घट्यो, साढे १ अर्बमाथिको कारोबार

काठमाडौं । शुक्रबार शेयरबजारमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन बिहीबार एकाएक उछाल आएको शेयरबजार आज पुनः ओरालोतफ लागेको छ । शुक्रबार नेप्से परिसूचक ८ दशमलव ८७ अंकले घटेर २०२८ को विन्दुमा पुगेको छ ।
नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३६ करोड ६३ लाख २२० कित्ता शेयर खरिदबिक्री हुँँदा १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँको कारोबार भएको छ । शेयरबजार लगानीकर्ताका विभिन्न संगठनहरुले माग गरेका १९ बुँदे माग पुरा गर्ने सम्बोधन गर्ने भएसँगै सुधार देखिएको पुँजीबजार शुक्रबार झिनो अंकले घट्न पुगेको हो ।
यसअघि बिहीबार नेप्से परिसूचक ७४ अंकले बढेर २०३७ को विन्दुमा पुगेको थियो भने नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको थियो ।