मकवानपुरमा विजुली वितरण प्रणालीमा समस्या, समाधान गर्न कांग्रेसको १५ दिने अल्टिमेटम

तु खबर संवाददाता
२०७९ असार २०,सोमबार १९:४४

मकवानपुर । मकवानपुरको विभिन्न क्षेत्रमा विद्युत वितरण प्रणालीमा देखिएको समस्यालाई तत्काल समाधान गर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । कांग्रेसका जिल्ला सचिव भीमसेन महतले सोमबार नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख दिपेन्द्रराज द्धिवेदी र हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्र श्रेष्ठलाई विद्युत वितरण प्रणालीमा उत्पन्न समस्याका विषयमा ध्यानाकर्षण गराउँदै तत्काल समाधान गर्न आग्रह गरेका हुन् ।

‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुहोस्’ सचिव महतले भने । ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं ।’

सचिव महतले विद्युत जनताको जीवनसँग अभिन्न रुपले जोडिएकाले त्यस्तो संवेदनशील विषयमा एक मिनेट पनि ढिलाई गर्न नहुने बताए । कांग्रेसले मकवानपुरवासीको विद्युतसँग सम्बन्धित समस्याको पहिचान गर्ने क्रममा जनताको जनजीवन प्रभावित बन्नुको साथै जोखिम समेत बढेको पाएको भन्दै उनले १५ दिनभित्र समस्या समाधान गर्न प्राधिकरणलाई आग्रह गरे ।

सचिव महतसँगै कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तान र गढी ७ नम्वर वडा अध्यक्ष सुर्यबहादुर स्याङ्तान, पूर्व जिल्ला अध्यक्ष हरि वाग्लेलगायतले मकवानपुरका विभिन्न क्षेत्रमा विद्युत प्रवाहमा भइरहेको समस्याबारे प्राधिकरणका जिम्मेवार अधिकारीहरुलाई जानकारी गराएका हुन् ।

सोही क्रममा प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख द्धिवेदीले तत्कालै समस्या भएको ठाउँको पहिचान गरी समाधान गरिने प्रतिवद्धता व्यक्त गरे । हेटौंडा वितरण केन्द्रका प्रमुख श्रेष्ठले १५ दिनभित्र जनताले गुनासो गर्ने अवस्था नआउने गरी समस्या सुल्झाइने बताए ।

जिल्लाको सबैजसो क्षेत्रमा दैनिक १९/२० पटकसम्म विजुली आउने जाने गरेको छ । जसका कारण आम जनताको दैनिकी प्रभावित बन्नुको साथै साना तथा घरेलु व्यवसायीहरुसमेत मर्कामा पर्दै आएका छन् । ग्रामिण भेगका अधिकाँश क्षेत्रमा काठको पोल रहेको छ । ती पोलहरु वर्षायाममा कुहिएर भाँचिदा विजुली वितरणमा समस्या हुनुको साथै मानवीय जोखिमसमेत बढेको छ । प्राधिकरणले काठकोे पोललाई विस्थापित गरी फलामको पोल हाल्ने नीति लिएको भएपनि त्यसलाई कार्यान्वयन गर्न नसक्दा समस्या भएको हो ।

ग्रामिण क्षेत्रमा विजुली आउने जाने गर्दा नेपाल टेलिकमको नेटवर्कमा समस्या भएको, इलेक्ट्रोनिक सामानहरु विग्रने गरेको, समयमा ट्रान्सफर्मर चेकजाँच नहुँदा पड्कने गरेको, प्राधिकरणले सडकमा भएका पोलहरु नसार्दा निर्मार्ण व्यवसायी कम्पनीले सडकको बीचमा नै पोल पर्नेगरी सडक निर्माण गरेको र त्यसले जोखिम निम्त्याएको विषयमा स्थानीयहरुले गुनासो गर्दै आएका छन् ।

पोलमा विजुलीका तारहरु गज्याङगुजुङ भएका कारण विद्युत सर्ट हुने अनि कहिलेकाँही तारहरु विद्युत सर्टभई बलेको अवस्थामा प्रत्यक्ष देखिने गरेको छ । सहि तरिकाले विजुली विस्तार नगर्दा निकै जोखिम हुन्छ । तर, सम्बन्धित निकायले विगतमा यी विषयहरुमा चासो देखाएको भने पाइँदैन ।