मकवानपुरमा भोलिबाट इ–पासपोर्टको लागि निःशुल्क अनलाइन फारम भर्न सकिने

तु खबर संवाददाता
२०७९ असार २३,बिहीबार १६:०२

मकवानपुर । मकवानपुरकामा भोलि शुक्रबारबाट विद्युतीय इ पासपोर्टको लागि निशुल्क रुपमा अनलाइन फारम गर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको १० वटै स्थानीय तहमा भोलिबाट विद्युतीय इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाइन फारम भर्न सकिने जानकारी गराएको हो ।

सम्मेलनमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) राजेन्द्र देव पाण्डेले प्रशासन कार्यालयमा इ–पासपोर्टको लागि अनलाईन फारम भर्नेको भीडभाड बढेको र साइवरहरुले मनलग्दी पैसा लिएर फारम भरिरहेको गुनासो आएपछि स्थानीय तहहरुको सहयोग र समन्वयमा स्थानीय तहमै इ–पासपोर्टको लागि निःशुल्क रुपमा अनलाइन फारम भर्ने व्यवस्था मिलाएको जानकारी दिए ।

जिल्लाको स्थानीय तहमा निःशुल्क रुपमा इ–पासपोर्टको लागि अनलाइन फारम भर्न सकिने र राष्ट्रिय परिचयपत्र बनाउन सकिने उनको भनाई छ । उनले जिल्लामा इ–पासपोर्टको लागि दैनिक ९० जना र सातामा ५४० जनाले फारम भर्न सकिने बताए ।

प्रजिअ पाण्डेका अनुसार, ईन्टरनेटको पहुँच भएकाहरुले घरबाटै फारम भर्न सकिन्छ । पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालयमा इ–पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको भिडभाड बढिरहेको छ ।