मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न प्रेस युनियनको महत्वपूर्ण भूमिका छ : प्रधानमन्त्री देउवा

तु खबर संवाददाता
२०७९ श्रावण ६,शुक्रबार १३:११

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको प्रजातन्त्र र राष्ट्रियताको सम्बर्द्धन गर्न नेपाल प्रेस युनियनको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले आज शुक्रबार नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको हेटौंडामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री देउवाले मुलुकमा प्रेस र व्यक्तिगत स्वतन्त्रताको रक्षा गर्न वर्तमान सरकार इमान्दारिपूर्वक लागि पर्ने बताए । उनले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रताको साथै जनतालाई मानव अधिकारको प्रत्याभूति गर्न र उनीहरुलाई आर्थिक समृद्धितर्फ डोर्याउन मौजुदा सरकारले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको जानकारी गराए ।

नेपाली कांग्रेसका सभापति समेत रहेका उनले संचारकर्मीहरुले देश र जनताप्रति उत्तरदायी बहन गर्दै सत्य र निष्ठा समाचारलाई जनतासामु सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री देउवाले राज्यको सातै प्रदेशमा सर्वसाधारण नागरिकहरुलाई नागरिकता शुलभ ढंगबाट उपलब्ध गराउने उद्देश्यले वर्तमान सरकारले अहिले प्रतिनिधि सभामा नागरिकताको नयाँ विधेयक दर्ता गरी पारित गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।