बागमती प्रदेश सरकार संचालनको साढे ४ वर्षमा ५५ वटा मात्र कानून निर्माण
![](https://www.tukhabar.com/wp-content/uploads/2021/06/bagamati-pradeshsabha-hetau-e1636340921103.jpg)
मकवानपुर । बागमती प्रदेश सरकारले पहिचान गरेको अत्यावश्यक ९९ वटा कानूनमध्ये हालसम्म ५५ वटा मात्र कानून निर्माण भएका छन् । सरकार सञ्चालनको साढे ४ वर्षभन्दा बढी अवधिसम्ममा ५५ वटा मात्र कानून निर्माण भएको हो ।
प्रदेश सरकार स्थापनाका बखत औंल्याइएका अत्यावश्यक ९९ वटा कानूनलाई समीक्षा गरेर ८२ वटा कायम गरिएको थियो । प्रदेशसभा सचिवालय हेटौंडाका अनुसार, प्रदेश सरकार गठन भए लगत्तै सरकार सञ्चालनका लागि आवश्यक ठहर गरिएका ९९ कानूनमध्ये ५५ वटा मुल विधेयकलाई प्रक्रियाबाट कानून निर्माण गरिएको हो । अन्य ४४ वटा कानून भने निर्माणको प्रक्रियामा समेत गएका छैनन् ।
प्रदेश सरकारका तर्फबाट प्रदेशसभा सचिवालयमा ७५ वटा विधेयक तथा नियमावलीहरु दर्ता गरिएको छ । जसमध्ये ७० वटा पारित भएका छन् । पारित भएकामध्ये मूल विधेयक ५५ वटा छन् भने १५ वटा संशोधन विधेयक छन् । पारित विधेयकमध्ये पनि ६६ वटा मात्र प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् ।