साढे २२ लाख घुससहित पक्राउ परे ‘गोल्ड मेडलिस्ट’ उपसचिव

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन् । नेपालमा साढे २२ लाख रुपैयाँ घुस रकमसहित मंगलबार पक्राउ परेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका उनले बेलायतमा छात्रवृत्तिमा पढ्ने अवसर समेत पाएका थिए । छात्रवृत्तिमा अध्ययन गरेर फर्किएको आठ महिना पुग्दा नपुग्दै उनी घुससहित रंगेहात पक्राउ परेका हुन् ।
पर्यटन व्यवसायीसँग घुस मागेको संकेत पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गुप्तचरी टोलीले मंगलबार बिहानैदेखि उपसचिव नेपालको निगरानी गरेको थियो । नेपालले नागपोखरीस्थित होटल अरण्यमा घुस लिएको सुनिश्चित भएपछि टोलीले पक्राउ गरेको जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव नेपाल ६ लाख रुपैंयासहित पक्राउ परे ।
प्याराग्लाइडिङको उडान अनुमतिका लागि उनले घुस मागेको र त्यो रकम लिएको भन्ने सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ पक्राउ गर्दा उनको साथबाट ६ लाख बरामद भएको थियो । अरु साढे १६ लाख रुपैंया भने उनको गाडीबाट बरामद गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएको छ ।
पाल्पा घर भएका नेपालले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्ने क्रममा स्वर्णपदक पाएका थिए । सरकारी सेवामा प्रवेश गरेपछि उनले नागरिक उड्ययन प्राधिकरणमा काम गरेका थिए । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) पनि भएका थिए ।