अमेरिकी र चिनियाँ हतियारसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०७९ श्रावण १९,बिहीबार ०८:५८

धादिङ । प्रहरीले धादिङबाट सुनजस्तो पहेँलो धातु, अमेरिकी डलरजस्ता देखिने नोट र हतियारसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार पक्राउ गरेका बेगबहादुर तामाङमाथि थप अनुसन्धान हुँदा हतियारसमेत बरामद भएको जनाएको छ ।

प्रहरीका अनुसार, प्रहरी निरीक्षकको कमाण्डमा मंगलबार खटिएको टोलीले नीलकण्ठ नगरपालिका–३, धादिङबेसी थोपल खोलास्थित लपाङफेदीबाट आउँदै गरेको ग १ ज ६७५३ नम्बरको गाडीलाई विशेष सूचनाको आधारमा चेकजाँच गरेको थियो ।

सो क्रममा उक्त गाडीको पछाडी सीटमा बसेका धादिङ, खनियावास गाउँपालिका–४ बस्ने बेगबहादुर तामाङ र शोभा तामाङका साथबाट बिस्कुट आकारको सुनजस्तो देखिने पहेँलो धातु एक थान र अमेरिकी डलरजस्तो देखिने ५० दरको नोट ९७ थान, १०० दलको १६३ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

बेगबहादुर शंकास्पद रहेको आशंकामा थप अनुसन्धान अघि बढाएको प्रहरीले बुधबार उनको घरमा खानतलासी गर्दा ‘मेड इन युएसए’ लेखिएको एउटा र ‘मेड इन चाइना’ लेखिएको एउटा पेस्तोल, ती पेस्तोलमा प्रयोग हुने २० राउण्ड गोली, कटुवा पेस्तोल एक थान, सुनजस्तो देखिने बिस्कुट आकारका पहेँलो धातु एक किलो लेखिएको एउटा र ५०० ग्राम लेखिएको ४ वटा बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिररहेको जनाइएको छ ।