२ करोड बराबरको स्ल्याब ढलान गर्न मनहरी २ मा सर्वेक्षण सुरु

तु खबर संवाददाता
२०७९ श्रावण २०,शुक्रबार ०९:४८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा स्ल्याब ढलान गर्न सर्वेक्षण सुरु गरिएको छ । प्रदेश सरकार र मनहरी गाउँपालिको २ करोड रुपैयाँ बराबरको संयुक्त बजेटबाट स्ल्याब ढलान गर्न लागिएको हो ।

प्रदेश सरकारबाट शसर्त अनुदान मार्फत विनियोजित ९९ लाख ९६ हजार रुपैयाँको बजेटमा गाउँपालिकाले सोही बराबरको थप गरी १ करोड ९९ लाख ९२ हजार रुपैयाँमा स्ल्याब ढलानको काम गर्नको लागि आवश्यक प्रकृया अगाडि बढाइएको मनहरी–२ का वडाध्यक्ष राजकुमार पाख्रिनले जानकारी दिए ।

गाउँपालिकाका प्राविधिकले प्रधान खोल्चीदेखि नाराण चोक सीता मावि र नाराण चोकदेखि झुल्यानसम्मको सडकलाई स्तरीकरणको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ । उक्त सडकको स्तोरोन्नती भएपछि मनहरी २ को भिमान ,गोगानघरी, सर्सिधाप, ट्यांकी दामर, भुन्द्रुङखोला, ठाडोखोला, तिन्ताले लगायत टोलका सर्वसाधारणलाई वडा कार्यालयसम्म आउन र जान सहज हुने उनले बताए ।