माध्यामिक तह अंग्रेजी शिक्षक पदको नतिजा सार्वजनिक

तु खबर संवाददाता
२०७९ भाद्र २२,बुधबार १७:४१

काठमाडौं । माध्यामिक तह अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक तर्फको माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले असोज २६ गतेदेखि २८ गतेसम्म अन्तर्वार्ताको मिति तय गरेको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार प्रदेश १ को ८० शिक्षक पदको लागि १०४ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । परीक्षामा ३३६ जना सहभागी भएका थिए ।

मधेश प्रदेशको लागि २२ रिक्त पदको लागि ४८ जना सहभागीमध्ये २९ जना उत्तीर्ण भएका छन् । बागमती प्रदेशको लागि ६६ रिक्त पदको लागि २३९ जनाले परीक्षा दिएका थिए । त्यसमध्ये ७५ जना अन्तर्वार्ताको लागि उत्तीर्ण भएका छन् । गण्डकी प्रदेशमा ६१ रिक्त पदको लागि २७८ जनाले परीक्षा दिएको मध्येमा ७३ जनाले परीक्षा उत्तीर्ण गरेका छन् ।

त्यस्तैगरी, लुम्बिनी प्रदेशको लागि ३८ रिक्त दरबन्दीको लागि १७७ जनाले परीक्षा दिएकोमा ४७ जना अन्तर्वार्ताका लागि छनोट भएका छन् । कर्णाली प्रदेशको लागि २० शिक्षक पदका लागि ४२ जनाले परीक्षा दिएको मध्ये जम्मा १७ जनाले उत्तीर्ण गरेका छन् । सुदुरपश्चिम प्रदेशमा २७ शिक्षक पदका लागि १२९ जनाले परीक्षा दिएका थिए । ती मध्येमा २८ जना अन्तर्वार्ताको लागि छनोट भएका छन् । आयोगले चैत १५ गते सामान्य र असार ९ गते विषयगत परीक्षा लिएको थियो ।

लिखित परीक्षाको नतिजामा चित्त नबुझेको अवस्थामा पुनर्योग गर्न चाहनेले भदौ २९ गते कार्यालय समयभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार, परीक्षार्थीले अन्तर्वार्ता हुने दिन प्रत्येक उम्मेद्वारले अन्तर्वार्ता केन्द्रमा अनिवार्य रुपमा व्यक्तिगत विवरण फाराम बुझाउनुपर्नेछ ।