सभामुखले असोज १ मा सबै सांसदहरुलाई ‘भोज’ खुवाएर बिदाइ गर्ने

तु खबर संवाददाता
२०७९ भाद्र २७,सोमबार ०९:१४
file-photo

काठमाडौं । २०७४ मा निर्वाचित प्रतिनिधि सभाका सांसदहरु आगामी असोज १ गते विदा हुने भएका छन् । असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदहरुलाई बिदाई गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

५ वर्षअघि अर्थात २०७४ मंसिर १० र २१ गते भएको निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभाका सांसदहरु पहिलो पटक सोही सालको फागुन २१ संसद प्रवेश गरेका थिए । प्रतिनिधि सभाको कार्यकाल आगामी असोज १ गतेसम्म मात्रै रहने निर्क्योल भएसँगै सोही दिन अर्थात असोज १ गते अन्तिम बैठक राखेर सांसदहरुलाई बिदाइ गर्न लागिएको हो ।

आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको मनोनयन असोज २ गते तय भएकाले त्यसअघि सांसदहरुलाई बिदाइ गर्न लागिएको हो ।

संसद सचिवालयले भदौ २९ गते बैठक राखेको छ । सोही दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने सरकारको तयारी छ ।