संविधान नै नमान्ने दलले कसरी मुलुकको विकास गर्छ ?: डीना
मकवानपुर । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्वर १ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्दै संविधानमाथि प्रहार गर्ने दलबाट मुलुकको हित हुन नसक्ने बताएकी छन् ।
कांग्रेसको नेतृत्वमा ५ दलले मुलुक, संविधान र लोकतन्त्र जोगाएको स्मरण गर्दै गठबन्धनका उम्मेदवारलाई जिताउन अनुरोध गरेकी छन् । बिहीबार हेटौंडा–१६, १७ र १८ नम्वर वडाका गठबन्धन दलको आयोजनामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानको रक्षासंगै मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी रहेको दोहोर्याएकी हुन् ।
‘शान्ति सम्झौतादेखि नै प्रचण्ड र माधवकुमार नेपालसंग गठन्धन हुँदै आएको हो । अहिले केपी ओलीको सर्वसत्तावाद र ज्यादतीका विरुद्ध फेरि हामीले गठबन्धन गरेका हौं’, डिनाले भनिन्, ‘दायाबायाँ नसोची एकढिक्का भएर गठबन्धनलाई जिताउन लाग्नु जरुरी छ । सबै क्षेत्रको अधिकार सुनिश्चित गर्न गठबन्धनले साझा उम्मेदवार चयन गरेको छ । हामी १४ मतले माथि छौं, डराउनुपर्ने अवस्था छैन अब आफ्नो मत जोगाउँदै मतान्तर बढाउन लाग्नुहुन अनुरोध गर्न चाहन्छु ।’
संविधानमा हस्ताक्षर नगर्ने र संसद् विघटन गर्नेहरु प्रतिगामी भएको बताउँदै उनले सत्तारुढ गठबन्धनले प्रतिगामी शक्तिसंग चुनाव लडिरहेको बताइन् । ‘तपाईंको पार्टीको उम्मेदवार छैन भन्दै भ्रम फैलाउन खोजिएको छ, हामी ५ दलको साझा उम्मेदवार हौं, गठबन्धनको इमान्दारिता कायम राख्दै साझा उम्मेदवारलाई जिताउन लाग्नु आवश्यक छ’, उनले थपिन्, ‘आ–आफ्नो गाउँठाउँको मत जोगाउँदै एमाले र राप्रपाको भ्रमलाई चिर्दै वर्तमान सरकार र गठबन्धनले गरेको राम्रो काम जनतालाई जानकारी गराउनुहोला ।’
उद्योग कलकारखाना पुनर्जिवित बनाउँदै युवालाई रोजगारीको व्यवस्था गर्ने, हेटौंडालाई व्यवस्थित औद्योगिक नगरी बनाउने तथा शिक्षा, स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासलाई जोड दिने योजना रहेको उनले सुनाइन् ।