जग्गा व्यवसायी घिमिरेले अनुचित दबाब दिएपछि मेयर लामाले झपारिन्
मकवानपुर । कार्यकक्षमै पुगेर अनुचित दबाब दिने जग्गा व्यवसायी ध्रुब घिमिरेलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले झपारेकी छिन् ।
आइतबार दिउँसो मेयर लामाको कार्यकक्षमा पुगेर घिमिरेले आफु अनुकुल निर्णय नभए मेयरको कुर्सी हल्लाइदिने धम्की दिएका थिए । कार्यकक्षमै अनुचित धम्की दिएपछि आक्रोशित बनेकी मेयर लामाले घिमिरेलाई आफु कसैको धम्कीबाट नडग्ने भन्दै झपारेकी हुन् ।
‘जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गरेर नापी र मालपोत कार्यालयमा पत्राचार गरिदिन भन्दै ध्रुब घिमिरेले मेयरलाई आग्रह गर्नुभयो, मेयरले निर्वाचन आचारसंहिताका कारण अहिले नमिल्न सक्छ, मापदण्ड पनि के छ बुझेर हुने, मिल्नेसम्म भए गरौँला भन्ने प्रक्रिक्रिया दिएपछि घिमिरेले जुनसुकै हालतमा सो कार्यं आजै हुनुपर्छ भन्दै पटक–पटक दबाब दिनुभयो ।’ घटनाका एक जना प्रत्यक्षदर्शीले तु खबरलाई भने ।
मेयर लामाले आजको आजै निर्णय गर्न मिल्दैन भन्दै प्रक्रिक्रिया दिएपछि व्यवसायी घिमिरेले मेयरको कुर्सी हल्लाइदिन्छु भन्दै धम्की दिएका थिए ।
‘जनताले मलाई राम्रो काम गर्न चुनेर पठाउनुभएको हो । मिल्ने रहेछ भने गर्छु नत्र कसैको धम्कीबाट डराउँदिन भन्दै मेयरले झपार्नुभयो । त्यसपछि धुव्र घिमिरे बाहिर निस्कनुभएको हो ।’ ती प्रत्यक्षदर्शीले भने ।
घटनापश्चात ध्रुब घिमिरेले आफुलाई मेयर लामाले अपशब्द बोलेको भन्दै आपत्ती जनाए । जनताको सेवा गर्न आएका जनप्रतिनिधिले सेवाग्राहीलाई अपशब्द बोल्नु आपत्तीजनक भएको उनले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस विषयमा मेयर लामाले आफुलाई अनुचित दबाब दिएका कारण आक्रोशित बनेको स्वीकार गरिन् । ‘मलाई आजको आजै निर्णय गर भन्नुभयो, कुर्सी हल्लाइदिन्छु भन्दै धम्की दिनुभयो । मैले जनताबाट चुनिएर आएको हुँ, जनताको लागि काम गर्छु ।तपाईले सकेको गर्नुस् भनेको हुँ, अपशब्द बोलेको होइन ।’ उनले भनिन् ।