हेटौंडा उपमहानगरलाई अनुचित दबाब दिँदै जग्गा व्यवसायी
हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई जग्गा व्यवसायीहरुले अनुचित दबाब दिएका छन् । व्यवसायीहरुको एक समूहले आज उपमहानगरपालिका परिसरमा पुगेर तत्काल जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गरेर नापी र मालपोत कार्यालयमा पत्राचार गरिदिनु भन्दै दबाब दिएका हुन् ।
उनीहरुले जग्गा वर्गीकरणको निर्णय तत्काल नगरे भोलिबाट उपमहानगरमा तालाबन्दी गरी सम्पूर्ण सेवा ठप्प पार्ने भन्दै दबाब दिएका हुन् ।
आइतबार दिउँसो जग्गा कारोबारी ध्रुव घिमिरेले मेयर मिना लामाको कार्यकक्षमै पुगेर तत्काल जग्गा वर्गीकरण नगरे मेयरको कुर्सी हल्लाइदिन्छु भन्दै धम्की दिएका थिए । घिमिरेको धम्कीपछि आक्रोशित बनेकी मेयर लामाले घिमिरेलाई आफु कसैको धम्कीबाट नडग्ने भन्दै झपारेकी थिइन् ।
सोही विषयलाई लिएर जग्गा व्यवसायीहरु आज आन्दोलनमा उत्रिएका हुन् ।
मेयर लामाले भने अहिले निर्वाचन आचारसंहिता जारी भइसकेको र उपमहानगरपालिकाले गर्ने नीतिगत निर्णयले चुनावमा प्रत्यक्ष असर पर्ने भन्दै चुनाव अघि जग्गाको वर्गीकरण सम्बन्धी निर्णय गर्न नसकिने बताएकी छिन् ।
उनले भनिन्, ‘मलाई जनताले चुनेर पठाउनुभएको हो । जनहितका काम गर्छु । जग्गा वर्गीकरणको विषयमा पनि बुझेर, मापदण्ड के छ अध्ययन गरेर हुने मिल्ने रहेछ भने गर्छौँ । तर, आजै गर, अहिले नै गर भनेर कार्यकक्षमा नै आएर अनुचित दबाब दिन त मिलेन नी । ’
यस विषयमा मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले निर्वाचन आचारसंहिताका कारण अहिले स्थानीय सरकारले मतदातालाई प्रत्येक्ष असर पर्ने गरी नीतिगत निर्णय गर्न नमिल्ने प्रतिक्रिया दिए ।