यसरी सकियो जग्गा व्यवसायी ध्रुव घिमिरेको नाटक

तु खबर संवाददाता
२०७९ कार्तिक २३,बुधबार १६:३५

हेटौंडा । घटना कात्तिक २० गते आइतबारको हो । घरजग्गा व्यवसायी ध्रुव घिमिरे हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामालाई कित्ताकाट खुलाउन अनुचित दबाब दिन पुगे ।

लामाले मंसिर ४ गतेको निर्वाचन सकिएपछि प्रकृयासम्मत रुपमा यसबारे आधिकारिक निर्णय गर्ने जानकारी दिइन् । मंसिर ४ पछि निर्णय गर्ने विषयमा व्यवसायी घिमिरे तयार भएनन्, मेयर लामासंग भनाभन परेपछि त्यहाँबाट निस्किए र उपमहानगरपलिकाविरुद्ध मंगलबार चरणबद्ध आन्दोलन गर्ने घोषणा गरे ।

आज बुधबार आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने निर्णय घिमिरे नेतृत्वको व्यवसायी संघले गर्यो । मंसिर ४ को निर्वाचनपछि यसबारेमा निर्णय गर्न मेयर लामा तयार भएकोले आन्दोलन फिर्ता लिने सहमति भएको घिमिरेको दावी छ ।
आइतबारदेखि बुधबारसम्म घिमिरेले चलाएको नाटक, यसरी सकियो ।

मंसिर ४ गतेपछि निर्णय गर्ने कुरामा मेयर लामा पहिले नै तयार थिइन् र यसबारे घिमिरेसहितको व्यवसायीको टोलीलाई जानकारी पनि गराएकी थिइन् । घोषणै गर्न नपर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेर एक दिन पनि टिक्न नसकी नाटकीय रुपमा आन्दोलन फिर्ता भयो ।

व्यवसायीहरुका अनुसार, कि आन्दोलन घोषणा गर्नै हुन्नथ्यो, गरिसकेपछि परिणाम आउने गरी सहमति हुनुपर्दथ्यो ।

जग्गा वर्गीकरण सम्बन्धी निर्णय तत्काल नगरे उपमहानगरको कार्यालयमा तालाबन्दी गरी सम्पूर्ण सेवा अवरुद्ध पार्ने भन्दै मंगलबार दिउँसो आन्दोलनको कार्यक्रम घोषणा गरेको व्यवसायीको टोलीले बुधबार बिहान फिर्ता लिएको हो ।

उपमहानगरलाई अनुचित दबाब सृजना गर्ने, नगर प्रमुखको कार्यकक्षमा नै पुगेर धम्क्याउने जस्ता गतिविधिमा संलग्न जग्गा व्यवसायी घिमिरेलाई प्रशासनले कारबाही गर्ने तयारी गरेपछि टोलीले आन्दोलनको कार्यक्रम फिर्ता लिएको हो ।

जग्गा व्यवसायी घिमिरेले आइतबार मेयर लामाको कार्यकक्षमा नै पुगेर जग्गाको वर्गीकरण सम्बन्धी निर्णय तत्कालै गरी नापी कार्यालय र मालपोत कार्यालयमा पत्राचार गरिदिन भन्दै दबाब दिएका थिए ।

मेयर लामाले निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा नीतिगत निर्णय गर्न नमिल्ने भएकाले निर्वाचनपश्चात विधि प्रक्रिया र मापदण्ड बमोजिम मिल्ने रहेछ भने गर्ने बताएकी थिइन् ।

व्यवसायी घिमिरेले आजको आजै गर्नुस्, नत्र कुर्सी हल्लाइदिन्छु भन्दै धम्की दिएपछि आक्रोशित बनेकी मेयर लामाले सकेको गर्नुस्, कसैको धम्कीदेखि डराउँदिन भन्दै झपारेकी थिइन् ।

मेयरले झपारेपछि घिमिरेले पूर्वाग्रह राखी जग्गा व्यवसायीहरुलाई उक्साएर मंगलबार उपमहानगरपालिकामा धर्ना दिन गएका थिए । उनले आफु अनुकुल निर्णय नभए उपमहानगरको कार्यालयमा तालाबन्दी गर्ने, सेवा अवरुद्ध पार्ने भन्दै आन्दोलनको कार्यक्रमसमेत सार्वजनिक गरेका थिए । तर, त्यसरी सुरु गरिएको आन्दोलन त्यस्सै डिसमिस भयो ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा स्थानीय सरकारलाई नीतिगत निर्णय गर्न दबाब सिर्जना गर्ने घिमिरेको नाटक आन्दोलन फिर्ता भएसँगै सकिएको हो ।

यस विषयमा व्यवसायी घिमिरेले कित्ताकाट खुलाउनआफुहरुले विगतदेखि पहल गरेको र बुधबार सर्वपक्षीय छलफल गरी निर्वाचनपश्चात उपमहानगरपालिकाले सो कार्य अघि बढाउने सहमति भएको बताए ।

२०७९/०७/२४ गते अध्यावधिक गरिएको- सम्पादक