पत्रकार महासंघ मकवानपुरको १७ औं साधारणसभा सम्पन्न

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुरको १७ औं वार्षिक साधारणसभा शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षता एवम् नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यबाट बारम्बार प्रहार भइरहेको बताए । उनले विगत ५ वर्षको अवधिमा राज्यबाट व्यवसायिक पत्रकारिताको विकासका लागि सन्तोषजनक गतिविधि नभएको बताए ।
अब बन्ने नयाँ संसद् र सरकारलाई दबाब सिर्जना गरी सु–व्यववस्थित एवम् व्यवसायिक पत्रकारिताको विकास तथा सञ्चार क्षेत्रको हितका लागि महासंघले आगामी दिनमा खबरदारी गर्ने उनले बताए ।
सभामा व्यवसायी महेन्द्र राउतले स्थापना गरेको पार्वतीमान/बोमबहादुर राउत अग्रज पत्रकारिता पुरस्कारबाट गोरखापत्रकर्मी राममणी दाहाललाई नगद ५ हजार ५५५ रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिएको थियो ।
त्यस्तै, संस्थापक अध्यक्ष न्हुच्छेमान श्रेष्ठको नाममा स्थापित न्हुच्छेमान श्रेष्ठ क्रियाशील पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समितिकी मकवानपुर संवाददाता अन्जली थापालाई नगद ५ हजार ५५५ रुपैयाँ पुरस्कार राशीसहित सम्मान गरिएको थियो ।
कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्याल, केन्द्रीय सदस्यद्वय सुनिल खड्का, ध्रुव रावल मकवानपुर शाखाका पूर्व अध्यक्षहरु, पत्रकारसम्बद्ध विभिन्न संघ–संगठनका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सभामा महासंघ मकवानपुर शाखा अध्यक्ष मणिराज गौतम, सचिव शुभलक्ष्मी विश्वकर्मा र कोषाध्यक्ष केशव समर्पणले वार्षिक गतिविधिको प्रतिवेदन पेश गरेका थिए ।