मतदाताले विश्वास गर्नुभएको छ, विजयी हुन्छु : ईन्द्रबहादुर बानियाँ

तु खबर संवाददाता
२०७९ मंसिर १,बिहीबार १७:१९
file_photo

मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्य पदमा लोकतान्त्रिक बाम गठबन्धनबाट ईन्द्रबहादुर बानियाँलाई अघि सारिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति रहेका बानियाँलाई भावी मुख्यमन्त्रीको रुपमा पनि हेरिएको छ । यसअघि पनि मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सांसद निर्वाचित भई कांग्रेस प्रदेश संसदीय दलका नेता बनेका उनको उम्मेदवारी र विकास योजनाको बारेमा बानियासँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

तपाईको निर्वाचन क्षेत्रका जनताको आवश्यकताबारे तपाई जानकार हुनुहुन्छ ?

मेरो निर्वाचन क्षेत्रको समस्याबारे म निकै जानकार छु । जानकार भएकै कारण पनि मैले धेरै कामहरु गर्न सफल भएको छु । जनताको पक्षमा यसअघि गरेका कामहरु पनि सबैमा जगजाहेर छ । विकट क्षेत्रको जीवनस्तर सुधारका लागि विकासका पूर्वाधारहरु सडक, खानेपानी, शैक्षिक संरचनासहित आयआर्जनमार्फत आयस्तर बृद्धिका मुद्धा नै मेरो क्षेत्रका मुख्य आवश्यकता हुन् । त्यसैले हामीले यसबारे आगामी योजनासहित मतदाताहरुलाई बताएका छौं । बाह्रै महिना यातायात संचालन हुने सडक, शिक्षामा गुणस्तरीय पूर्वाधार र जनशक्तिको व्यवस्था, स्वास्थ्यमा सहज पहुँच, विपन्न परिवारको निःशुल्क बिमा, स्थानीय स्तरमै रोजगारी र स्वरोजगार हुने अवसर लगायतका विषयमा हामीले त्यस क्षेत्रका मतदातामाझ प्रतिबद्धता जनाएका छौं । मैले आफ्नो घोषणापत्रमा आफ्नो क्षेत्रमा ५ बर्षभित्र कसरी काम हुनेछ भन्ने खाका प्रस्तुत गर्दै यसलाई पूरा गर्ने प्रतिवद्धता मतदातामाझ राखेको छु । प्रतिवद्धता भन्दा बढि नै काम गर्नेछु ।

गाँजा खेतीका लागि तपाईको क्षेत्र प्रख्यात छ, त्यसलाई वैधानिकता गर्छु भनेर बोल्नुभएको छ, यो कुरा चुनावी खपतको लागि मात्रै हो कि ?

हाम्रो क्षेत्रको आगामी दिनमा मुख्य आम्दानीको स्रोत नै गाँजा बन्न सक्छ । त्यसका लागि गाँजालाई वैधानिक बनाउनु आवश्यक छ । यो सम्भव पनि छ, हामी गछौं पनि । यसका लागि प्रक्रियागत ढंगबाट अघि बढ्ने हाम्रो योजना छ । विश्व स्वास्थ्य संगठनले नै गाँजालाई औषधीजन्य वनस्पतिको रुपमा लिइसकेको अवस्थामा छ । त्यसैले यसलाई कानूनी ढंगबाट व्यवस्थित खेती गर्ने वातावरण बनाउनुपर्छ । यसका लागि कानून निर्माण गर्न हामी लाग्नेछौं । जीविकोपार्जनका लागि गाँजा ओसारपसार गर्दा त्यस भेगका धेरै नागरिक कारागारमा पुगेका छन् । त्यस क्षेत्रमा भुगोलमा अन्य खेति समेत राम्रो नहुँदा जीविकोपार्जन गर्नका लागि गाँजा खेति गर्ने किसान र ओसारपसारमा संलग्न सोझा नागरिक जेल पुग्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ भन्ने हाम्रो धारणा छ । कानूनी ढंगबाटै यसको निरुपणका लागि हाम्रो पहल हुन्छ । तर गाँजालाई बैधानिक गर्ने भन्दैमा किराना पसल, पान पसल, तरकारी पसलमा पाइने अन्य सामग्री झैं गाँजाको बिक्री वितरण सहज भने हुँदैन । यसलाई राज्यको निगरानीमा व्यवस्थित खेती गर्दै औषधीजन्य प्रयोजनका लागि स्वदेशमा प्रशोधन गरी विदेश निर्यात गरेर बैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ ।

निर्वाचनप्रति तपाईको निर्वाचन क्षेत्रका मतदाताहरुको धारणा कस्तो पाउनु भयो ?

निर्वाचनप्रति मतदाताहरु एकदमै उत्साहित हुनुहुन्छ । आफ्नो अधिकार प्रयोगबारे भुगोलको हिसाबले विकट भए पनि मतदाताहरु सचेत भएको पाएँ । मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन र उम्मेदवारहरुबारे उहाँहरुले आफ्नो क्षेत्रमा छलफल गरिरहेको पाएँ । सञ्चार माध्यम र सामाजिक सञ्जालबाट उहाँहरु यसबारे अपडेट रहेको पाएँ । चुनावी घरदैलोमा आएका उम्मेदवारहरुबारे पनि उहाँहरुले धारणा बनाएको पाएँ । म प्रति जनताको आशा, भरोसा र विश्वास जोडिएको पाएँ । हाम्रो दुःखसुखमा हेर्ने मान्छे ईन्द्र बहादुर बानियाँ हो भन्ने आत्मविश्वास त्यस भेगका युवादेखि ज्येष्ठ नागरिकसम्ममा पाएको छु । स्थानीयस्तरमा आफैं पनि सर्र्वसाधारणले मेरो पक्षमा मत मागरिरहनु भएको पाएँ । अब यही उत्साहका साथ मतदाताहरु मतदानको प्रक्रियामा सबै सहभागी हुनु हुनेछ । विकास लिएर निरन्तर पुग्ने र व्यक्तिगत समस्या समाधानमा पनि म तल्लिन रहन्छु भन्ने उहाँहरुमा आत्मविश्वास पाएँ । मलाई मतदाताले विश्वास गर्नुभएको छ, विजयी हुन्छुु ।

 

चुनाव जितेपछि उम्मेदवार भेट्न मुस्किल छ भन्छन् नि मतदाता ?

अरुलाई त्यसो भन्लान् तर, मेरो सवालमा यो कुरा लागू हुँदैन । म सधैं उहाँहरु माझ नै रहेको छु । कोरोना महामारीमा होस् या अन्य आपत विपत, जाडो गर्मीमा होस् । मसँधै जनताको माझमा छु । जाडोमा विपन्न चेपाङ, तामाङ समुदाय र विद्यार्थीलाई न्यानो कपडा लिएर पुगेको छु । सरकारमा नहुँदा व्यक्तिगत ढंगले सडक, खानेपानी लगायतका पूर्वाधारको काम गरिरहेको छु भने पछिल्लो पटक गठबन्धनको सरकार हुँदा करिब ४ बर्ष अघिल्लो सरकारले गर्न नसकेको विकास योजना एक बर्षमा त्यस क्षेत्रमा पु¥याएको छु । त्यसैले पनि मैले मतदाता र शुभेच्छुकबाट ताली नै पाएको छु । त्यो मंसिर ४ गते हुने मतदानको परिणामबाट पनि प्रष्ट हुन्छ । मतदाताको भरोसा बनेरै रहनेछु, म सधैं उहाँहरुको सेवक नै हुनेछु ।

चुनावी अभियानमा विपक्षीलाई कटाक्ष गर्नेदेखि महत्वकांक्षी भाषण गर्नुहुन्छ, बोलेको पुरा गर्न सक्नुहुन्छ ?

मेरो मनमा जे छ त्यही आफ्नो भाषणमार्फत मतदातामाझ राख्ने गर्दछु । मेरो भनाई एकथरी र गराई अर्र्कोथरी हुँदैन, त्यो त मेरो जनप्रतिनिधिको रुपमा यो भुगोलमा गरेको काम र सक्रियताले नै देखाउँछ । उदाहरणका लागि राक्सिराङको परेवाभिरमा सडक बन्दैन भनेर अघिल्ला मूख्यमन्त्रीले भन्दा मैले प्रदेश सरकारबाट बजेट विनियोजन गराउँछु, प्रदेश सरकारले बनाएन भने मेरो नीजि लगानीमा बनाउँछु भनेर संकल्प गरेको थिएँ । गठबन्धनको सरकार आएपछि त्यसमा बजेट विनियोजन भएर, संघीय सरकारबाट पनि बजेट प्राप्त भएर अहिले त्यो बाटोबाट गाडि गुडेको छ, त्यो बाटो अब बन्ने गठबन्धन सरकारले कालोपत्रे गर्छ । मैले प्रतिवद्धता गरे अनुसारको काम राज्य संयन्त्रवाट वा आफ्नो व्यक्तिगत लगानीमा पुरा गर्ने गरेको छु । अघिल्लो चुनावमा प्रतिवद्धता गरेका अधिकांश बाचा पुरा गरेकै कारण मेरो भाषणमा निर्धक्क कुरा राख्छु । विपक्षीले गरेको गलत कार्यको खबरदारी गर्नु पनि एक उम्मेदवारको दायित्व भएकाले गलतलाई गलत र सहीलाई सही भन्ने गरेको छु । म जे बोल्छु त्यो गर्छु र गर्न सक्ने मात्रै बोल्छु । त्यो त मकवानपुरबासीलाई मेरो यथार्थ थाहै छ ।

दोस्रो पटक त्यस क्षेत्रका मतदाताले तपाईलाई मतदान गर्नुपर्ने कारण के छ ?

म समाजसेवाको उद्धेश्यले राजनीतिमा आएको हुँ । जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ । म सधैं जनताको व्यक्तिगत सुखदुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु । मैले आफ्नो निर्वाचन क्षेत्रको सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु । राज्यस्तरबाट हुन नसकेका कतिपय काम आफ्नो व्यक्तिगत सहयोगबाटै पुरा गरिरहेको छु । यसबारे मेरो निर्वाचन क्षेत्रका मतदातालाई अवगत छ । म विकास र जनताको जीवनस्तर सुधारका लागि बागमती प्रदेशका सबै जिल्लामा पुगेर समस्या समाधानमा जुटेको छु । जनताको व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकोले पनि मेरा मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ । म पुनः अर्को कार्यकाल आफ्ना मतदाताको सेवाका लागि दृढ संकल्पित भएर अघि बढेको छु, उहाँहरुको मतबाट बिजयी हुनेमा ढुक्क छु ।

यहाँलाई आगामी मूख्यमन्त्रीको रुपमा हेरिएको छ नि ?

मलाई मकवानपुरे मतदाताले २०७० सालमा निर्वाचित गरेपछि त्यसअघि झैं निरन्तर जनताको सेवामा छु । उहाँहरुको मतको सम्मान गर्दै पार्टीले गृह राज्यमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको रुपमा दिएको जिम्मेवारी र पार्टीका सांसदहरुको विश्वासका साथ बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेको छु । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारीलाई संसदीय मर्यादाभित्र रहेर सशक्त ढंगले पुरा गरेको छु । पछिल्लो पटक गठबन्धन दलको प्रदेश सरकार निर्माण भएपछि सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको नेताको रुपमा सरकारमार्फत जनताको विकासको भोक मेट्न काम गरेको छु । व्यक्तिगत रुपमै जनताको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकास लगायतका क्षेत्रमा काम गरेको जस्ता कारणले पनि मतदातामा मप्रति विश्वास र भरोसा छ । सबैले विश्वास गरेर मलाई जिम्मेवारी दिए भने म प्रदेशको मुख्यमन्त्री बनेर जनताको सेवा गर्न तत्पर छु ।