नेपाल एयरलाइन्सको आन्तरिक उडान प्रभावित

तु खबर संवाददाता
२०७९ मंसिर २,शुक्रबार १८:१३

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित बनेको छ ।

काठमाडौंबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

उक्त जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द गरिएको छ । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको हो ।

गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ ।