समानुपातिकतर्फ १ करोड मतगणना सम्पन्न, अझै ९ लाख गन्न बाँकी

तु खबर संवाददाता
२०७९ मंसिर १४,बुधबार १७:४२

काठमाडौं । प्रतिनिधि सभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार ९३२ मतगणना सम्पन्न भएको छ ।
देशभर कूल मतदाता एक करोड ७९ लाख ८ हजार ८५० रहेकोमा ६१ प्रतिशत अर्थात एक करोड ९ लाख ७३ हजार २७ मत खसेको थियो ।

तीमध्ये एक करोड ४२ हजार ९३२ मतगणना सम्पन्न भएको हो । अब ९ लाख मतगणना बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । हालसम्म उक्त दलले २७ लाख एक हजार ७२ मत प्राप्त गरेको छ ।

यस्तै, नेपाली कांग्रेस २५ लाख ५९ हजार १७१ मतसहित दोस्रो स्थानमा, नेकपा माओवादी केन्द्र ११ लाख ४५ हजार ४४२ मतसहित तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार ६६३ मतसहित चौथो स्थानमा, राष्ट्रिय प्रजातन्त्र पार्टी पाँच लाख ७१ हजार १७५ मतसहित पाँचौ स्थानमा, जनता समाजवादी पार्टी नेपाल ३ लाख ९६ हजार ८३९ मतसहित छैठौ र जनमत पार्टीले ३ लाख ६० हजार ६६९ मतसहित सातौ स्थानमा रहेका छन् ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । सुनसरी क्षेत्र नं ४, स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।

तीमध्ये दोलखाका १० मतदान केन्द्रमा यही मङ्सिर १५ गते पुनः मतदान हुँदैछ भने स्याङ्जा र बाजुराको मतदानमा भएको विवादबारे चाँडै निकास दिइने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।