३७ हजारले भरे ईपीएसको आवेदन
काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजारभन्दा बढीले आवेदन दिएका छन् ।
सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ हजार कोटामा ३७ हजार २७७ जनाले आवेदन दिएको इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले जानकारी दिएको छ ।
उनका अनुसार, यही पुस ४ गतेदेखि पुस ८ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि अनलाइन फाराम भर्न आह्वान गरिएको थियो ।
आवेदन दिएकाहरूलाई माघ १६ देखि २७ गतेसम्म पहिलो चरणमा र फागुन ८ देखि २६ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ ।
प्रत्येक चरणको भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूको मात्र सोही चरणको लागि सीप परीक्षण (स्किल टेष्ट) हुनेछ । सीप परीक्षणमा उचाइ, तौल, दृष्टि लगायतका कुराहरू परीक्षण गरिनेहरू परीक्षण गरिनेछ ।
प्रत्येक चरणको भाषा परीक्षा र सीप परीक्षण सम्पन्न भएपछि मात्रै अन्तिम नतिजा प्रकाशित गरिने शाखाले जनाएको छ ।