जसपा मधेस प्रदेश संसदीय दलको नेता पुस २०/२१ मा चयन गर्ने
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशको संसदीय दलको नेता राजनीतिक समितिको बैठकपछि मात्रै गर्ने भएको छ । पार्टीको राजनीतिक समितिको बैठक पुस १८ र १९ गते काठमाडौँमा बस्दैछ ।
मधेस प्रदेशका प्रदेश सभाका सदस्यहरू पार्टी बैठकमा सहभागी हुने भएकाले २०÷२१ गते मात्र संसदीय दलको नेता चयन हुने बताइएको हो । आजदेखि जसपाको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । यो बैठकपछि राजनीतिक समितिको बैठक सुरु हुनेछ ।
प्रदेश सभामा सदस्य रहेका लालबाबु राउत र मनिष सुमन कार्यकारिणी समिति सदस्य हुन् । उनीहरू बैठकमा व्यस्त रहने भएका कारणले नेता चयन प्रक्रिया लम्बिने भएको छ ।
संसदीय दलको नेता चयन गर्नका लागि लालकिशोर साहको संयोजकत्वमा तीन सदस्य निर्वाचन समिति गठन गरिएको छ । सो समितिले आफ्नो चुनावी प्रक्रिया सुरु गरिसकेको छ ।