मकवानपुरगढी गाउँपालिकाको गाईहरुमा लम्पी स्कीन रोग पुष्टि
मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा पालिएका गाईहरुमा भाईरसबाट लाग्ने लम्पी स्कीन रोग पुष्टि भएको छ । स्थानीय मधुसुधन दहालको लक्ष्मी नाराणयन बहुद्धेश्यीय कृषी फर्मका ८ वटा गाईहरुको स्वाब संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाईएकोमा ३ वटा गाईमा उक्त रोग पुष्टि भएको पालिकाको पशुपन्छी विकास शाखा प्रमुख सत्यनाराण शाहले जानकारी दिए ।
यो रोग लाग्दा पशुमा १०४ देखि १०५ फरेन्टहाई सम्म उच्च ज्वरो आउने, उत्पादन घट्ने, वजन घट्ने, शरिरमा फोका–फोका आउने, र्याल सिंगान बगाउने जस्ता लक्षण देखिने शाखा प्रमुख शाहले जानकारी दिए । उक्त लक्षण देखिएपनि मृत्यु दर भने कम हुने र खास उपचार नभए पनि यी लक्षण देखिएमा नजिकको पशु प्राविधिकलाई सम्पर्क गर्न र कृषकलाई विशेष सावधानि अपनाउन पशु शाखा प्रमुख शाहले सबेलाई आग्रह गरेका छन् ।
रोग अर्को पशुमा सर्न नदिनका लागि रोगिपशुलाई कम्तीमा १५ दिनसम्म छुट्टै राख्ने, गोठमा लामखुटे, झिंगा नियन्त्रण गर्नें, भिरकोन स्प्रे गर्न कृषकहरुलाई अनुरोध गरिएको छ । यो रोग मानिसमा नसर्ने भएकाले रोग लागेको पशुको दुधलाई राम्रोसंँग उमालेर पिउन सकिने समेत उनले बताए ।
साथै पालिकाले शनिबारबाटै औषधीसहित प्राविधिक टोली परिचालन गरेको पशुपन्छी शाखा प्रमुख शाहले बताए ।