‘जनताप्रति जवाफदेही बनाउनेतर्फ प्रदेश सरकारको भूमिका प्रभावकारी हुनुपर्छ’

तु खबर संवाददाता
२०७९ माघ १८,बुधबार १७:१६

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशको सबै जिल्लामा सन्तुलित विकास र जनताप्रति जवाफदेही बनाउने कार्यलाई आत्मासमिक्षा गरेर प्रदेश सरकारको भूमिक अझै प्रभावकारी हुनुपर्ने बताएका छन् ।

प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभाको पाँचौं वार्षिकोत्सव समारोहको आज हेटौंडामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् । उनले प्रदेश सरकारले जनतालाई सुशासन, शान्ति–सुरक्षा एवम् आर्थिक समृद्धितर्फ जोड्न इमान्दारीपूर्वक कार्यसम्पादन गनुपर्नेमा जोड दिए ।

प्रदेशसभाले जनतासँग सरोकार भएका ऐन, कानून एवम् पर्यटन, कृषि, उद्योग र प्राकृतिक जडिबुट्टीहरुलाई संरक्षण गर्ने ऐन नियमको तर्जुमा गर्नुपर्ने बताए । उनले जनतालाई प्रदेशसभा हाम्रो नै हो भन्ने भावना अभिव्यक्ति गर्न प्रदेशसभाका सदस्हरुले आफुलाई व्यवहारिक बनाउनुपर्ने उल्लेख गरे ।

यस्तै, सो अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विगत ५ वर्षको अवधिमा प्रदेशसभाबाट ७० वटा ऐन, कानून निर्माण गरी व्यवहारमा लागू गरिएको उल्लेख गर्दै प्रदेश सरकारले प्रदेशको १३ वटै जिल्लामा विगतको अनूभवलाई समिक्षा गरेर टुक्रे योजनालाई भन्दापनि समष्टीगत रुपमा आवश्यकता अनुरुपको योजनालाई कार्यसम्पादन गर्ने बताए ।

उनले प्रदेश सरकार अहिले परिणामूखी विकास योजनालाई लक्ष्यका साथ अघि बढाउन लागि पर्ने उल्लेख गरे । मुख्यमन्त्री जम्मकटेलले अहिले जनतालाई प्रदेश सरकारले राम्रो काम गर्छ भन्ने भावना विकसित गर्न विकास आयोजनाले प्रत्यक्ष जनतालाई लाभ पुग्ने कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले विभिन्न ऐन, कानूनको तर्जुमा गरी प्रदेशमा सुशासनको प्रत्याभूति गर्ने, भ्रष्टाचारको नियन्त्रणका लागि प्रदेश सरकारले आवश्यक जनशक्ति उपलब्ध गराउने र प्रशासन यन्त्रलाई निष्पक्षका साथ जनताप्रति उत्तरदायित्व बोध गराउनेतर्फ सकरात्मक भूमिका निर्वाह गर्ने बताए ।

उक्त अवसरमा बागमती प्रदेशका सभामुख भुवककुमार पाठक, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, पूर्व सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईं र नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै, सोही अवसरमा प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सचिवालयद्वारा प्रकाशित पुस्तकको विमोचन गर्नुका साथै प्रदेशसभा सचिवालयका कर्मचारी धिरज ढकाल र चन्द्र प्रसाद घिमिरेलगायतका कर्मचारीहरुलाई नगद पुरस्कारसहित प्रशंसापत्र वितरण गरे ।