मनहरीमा हात्ति आतंक रोक्न निकुञ्जमार्फत बानियाँको पहल

तु खबर संवाददाता
२०७९ फाल्गुन ९,मंगलवार १५:३७
file-photo

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मनहरी क्षेत्रमा जंगली हात्ति आतंक रोक्न पर्सा राष्ट्रिय निकुञ्जमार्फत पहल गरेका छन् । नेता बानियाँले निकुञ्जमार्फत प्राविधिक टोली परिचालन गरी जंगली हात्तिको आतंक रोक्न पहल गरेका हुन् ।

मनहरी–४ मा जंगली हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु हुनु दुखद भएको भन्दै त्यस क्षेत्रमा जनधनको क्षति हुनबाट रोक्न अविलम्ब सुरक्षाकर्मीसहित प्राविधिक टोली परिचालन गर्न निकुन्जका वार्डेन अशोककुमार राममार्फत पहल गरेका छन् ।

उनले हात्ति अझै पनि त्यस क्षेत्रमै रहेकाले असुरक्षा बढेको भन्दै हात्तिलाई अन्यत्र लैजान र आगामी दिनमा जंगली हात्ति नआउने व्यवस्थाका लागि आवश्यक कार्य अघि बढाउन सुझाव दिएका छन् ।

बानियाँले मृतकका परिवारलाई उचित राहत र त्यस क्षेत्रमा भौतिक संरचना र बालिनालीमा भएको क्षतिको तथ्यांक संकलन गरी क्षतिपूर्ति उपलव्ध गराउन आग्रह गरेका छन् ।

बानियाँले मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीलाई समेत हात्ति प्राभावित क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभुति, राहत र क्षतिपूर्तिका लागि स्थानीय प्रशासन र निकुन्जसंग समन्वय गर्न सुझाव दिएका छन् ।

त्यस क्षेत्रका प्रदेशसभा सदस्य समेत रहेका बानियाँसंगको टेलिफोन कुराकानीमा निकुञ्जका वार्डेन रामले निकुञ्जका प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गर्ने र थप क्षति हुनबाट रोक्न आफुले काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले हात्तिलाई त्यस क्षेत्रबाट अन्यत्र धपाउने र स्थानीय जनप्रतिनिधि र नागरिक समाजसंगको समन्वयमा राहत, क्षतिपूर्ति र सुरक्षाको काम गरिने बताए ।

सोमबार बिहान जंगली हात्तिको आक्रमणबाट घाइते भएकी मनहरी–४ मसिनेकी ६४ बर्षीया राधा अधिकारीको साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।