इच्छा विपरित रंग नलगाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रह

तु खबर संवाददाता
२०७९ फाल्गुन १९,शुक्रबार १६:५०

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले फागु पूर्णिमामा इच्छा विपरित कसैलाई पनि रंग नलगाउन आग्रह गरेको छ । प्रशासन कार्यालय मकवानपुरले शुक्रबार एक सूचना जारी गरी सो कुराको आग्रह गरेको हो ।

प्रशासनले यही फागुन २२ र २३ गते मनाने फागु पुर्णिमा (होली) को शुभकामना दिँदै नेपालीहरुको साझा पर्वलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह गरेको हो ।

प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माद्वारा जारी गरिएको सूचना भनिएको, ‘सम्वत् २०७९ फागुन २२ गते परेको फागु पूर्णिमा (होली पर्व) को अवसरमा समस्त नागरिकहरूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौं । नेपालीहरूको साझा पर्व होलीलाई सभ्य, शिष्ट र मर्यादित रूपमा मनाउन हुन तथा कसैको इच्छा विपरित रङ्ग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरूमा होहल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधिहरू नगर्न र नगराउनु हुन सबैमा अनुरोध गर्दछौं ।’