घुस लिएको आरोपमा सहायक वन अधिकृत निलम्वित

तु खबर संवाददाता
२०७९ चैत्र १०,शुक्रबार ०८:२२

जनकपुरधाम । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । घुस लिएको भिडियो फेला परेपछि उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन गरी अनुसन्धान थालेको हो ।

वन मुद्दामा हिरासतमा रहेका अभियुक्तका आफन्तसित घुस लिइरहेको भिडियो प्रमाणको रुपमा फेला परेको वन मन्त्रालयका एक अधिकृतले जानकारी दिए । सहायक अधिकृत (सातौं तह) यादवलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

अवैध रुपमा वन पैदावार ओसारपसार मुद्दामा गत चैत्र ६ गते पक्राउ परेका बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जयनारायण साहको मुद्दा मिलाइदिने अन्यथा जेल पठाइदिने धम्की दिँदै ४ लाख रुपैयाँ लिइसकेको उनीमाथि आरोप छ ।

यादवले थप ४० हजार रुपैयाँका लागि बार्गेनिङ गरेपछि प्रतिवादीले भिडियो बनाएर मन्त्रालयलाई उपलब्ध गराएका थिए । त्यस सम्बन्धी विभिन्न अडियो प्रमाण समेत भेटिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।