‘मानिसको खस्कँदो चरित्रलाई उत्थान गर्न चाहान्छौँ’

तु खबर संवाददाता
२०७९ चैत्र १८,शनिबार १४:३५

विवाह नगरी सेतो कपडा लगाएर बसेका नारी/पुरुषहरुको समूहलाई झट्ट हेर्दा मनमा धेरै प्रकारका जिज्ञासा उत्पन्न हनसक्छ । कुमार/कुमारी बस्ने, ध्यान योग गर्ने, साकाहारी भोजन गर्ने भनेको सुन्दा यो कुन धर्म होला, के उद्देश्यले संचालन गरिएको होला, कसरी सञ्चालन भएको होला ? लगायतका जिज्ञासा उत्पन्न हुनसक्छ । कुमार/कुमारी बस्दा मानव जीवनको अस्तित्व नै धरापमा पर्ने होकी भन्ने पनि लाग्नसक्छ । तर, मकवानपुरको विभिन्न १० स्थानमा संचालनमा रहेका ब्रम्हकुमारी राजयोग सेवा केन्द्रबारे यहाँका निश्चित मानिसहरु मात्रै जानकार छन् । अधिकाँश अनविज्ञ छन् ।

यहाँ आवद्ध व्यक्तिहरु भने आफुहरु स्वार्थरहित रुपमा मानिसको समग्र चरित्र उत्थानको लागि काम गरिरहेको बताउँछन् । मानिसको गुमेको नैतिकता पुनः आर्जन गर्न, आत्मबल बढाउन, समाज रुपान्तरण गर्न लागिपरेको उनीहरुको भनाई छ ।

गैर नाफामुलक, गैरराजनीतिक र गैरधार्मिक संस्थाको रुपमा आफुहरु रहेको र समाजमा निरन्तर चेतनाको दियो बाल्न अग्रसर भएको बताउँछन् । उनीहरु निरन्तर समाजको परिकल्पनाको साथ शान्ति र समृद्धि स्थापनाका लागि क्रियाशील रहेको बताउँछन् ।

यसको उद्देश्य, कार्यान्वयनको अवस्था मकवानपुरवासीमा पारेको प्रभावलगायत विषयमा आधारित भएर तु खबरले ब्रम्हकुमारी राजयोग सेवा केन्द्र मकवानपुरका वरिष्ठ राजयोग प्रशिक्षक विजयराज सिग्देलसँग कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

सवालः ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको बारेमा जानकारी गराइदिनुस् न, मानिसको समग्र चरित्र उत्थानको लागि काम गर्छौँ भन्नुभएको छ, के– कस्ता गतिविधि गर्दै आउनुभएको छ त ?

जवाफः धन्यवाद । हामी खस्कँदै गएको मानिसको चरित्रलाई उत्थान गर्न, मानिसमा देवत्व स्वभाव विकास गर्न र मानवताको कार्यमा थप सहयोग गर्न चाहान्छौँ । खासगरी मानिसको एकाग्रता हुन नसक्ने मनलाई शान्त बनाउने प्रयास गर्छौँ । ध्यान, संयमता र भोजनको शुद्धताबाट मानिसमा आत्मबल जगाउन चाहान्छौँ ।

यीनै पवित्र उद्देश्य बोकेर ४० वर्षअघि गैरसरकारी संस्थाको रुपमा दर्ता गरी यो केन्द्र सुरु भएको हो । अहिले ७४ जिल्लामा हाम्रो शाखा विस्तार भएको छ । देशैभरीबाट ७ लाख भन्दा बढी मानिसहरु हाम्रो ध्यान/योगमा जोडिनुभएको छ । हाम्रो मुख्य प्रयत्न मानवलाई नरबाट नारायण जस्तै र नारीबाट लक्ष्मी जस्तै बनाउने हो । त्यसका लागि कर्म पनि सोही प्रकारको गर्नुपर्ने हुन्छ ।

हामी चित्रको पुजा गर्दैनौँ । चित्रको पछि जोडिएको चरित्रलाई मध्येनगर गर्छौँ । सबै सेवक हुनुपर्छ भन्ने छैन । तर, आफु ज्ञानी हुनसक्छौँ । संस्कारलाई निरन्तरता दिनसक्छौँ । व्यक्तिगत आन्तरिक, मानसिक विकासको लागि र मनलाई शान्त बनाउन यसले सेवा दिँदै आएको छ ।
अहिले मकवानपुरका १० स्थानमा यसका शाखा रहेका छन् । सम्पूर्ण रुपमा समर्पित भएर बस्ने दिदिहरुभाईहरु ३० जना हुनुहुन्छ ।
हामीले सामाजिक सेवामा पनि आफ्नो कदम अघि बढाइरहेका छौँ । हेटौंडाको पुस्पलाल पिस पार्क हेटौंडा नगरपालिकाले सञ्चालन गर्दै आएको र व्यवस्थित हुन नसकेको अवस्थामा हामीले व्यवस्थित बनाएका छौँ । चिल्डे«न पार्क पनि भताभुंग थियो, हामीले चुस्त बनाएका छौँ ।

विगत ५ वर्ष यता मकवानपुरको पश्चिमी क्षेत्र मनहरीमा पनि जेष्ठ नागरिक आमाहरु १५० जनासम्म रहनबस्न मिल्ने गरी आमाघर स्थापना गर्यौँ । त्यसका लागि सरकारले १२ बिगाह जमिन पनि दिएको छ । हामी त्यहाँ पार्क बनाउने काम गरिरहेका छौँ । समग्रमा हामी मानिसको चरित्र उत्थानका निम्ती सबैलाई प्रेरणा दिइरहेका छौँ ।

सवालः तपाईहरुको प्रयासले सार्थकता पायो भन्ने लाग्छ ? के कस्ता चुनौती देखिए ?

जवाफः हाम्रो संस्कार संस्कृति कस्तो छ भने, हाम्रो पुर्वजले मानेको संस्कार अघि बढिरहेको सन्दर्भमा ब्रम्हकुमारी राजयोगको प्रवेश भइसकेपछि, समाजले सुरुमा स्वीकार्न गाह्रो भएको, चुनौतीपूर्ण अवस्था थियो । अहिले विस्तारै सहज महसुस गर्दै आएका छौँ । भोजनको शुद्धता धेरै ठूलोे चुनौती थियो ।

हामीले कसैको आशु र मासु मिसिएको भोजन गर्नुहुँदैन । साकाहारी भोजन गर्नुपर्छ भनेका छौँ । मठमन्दिरमा बली चढाउने मांसाहारी भोजनलाई प्राथमिकता दिने यो समाजमा साँच्चै भन्ने हो भने सुरुवाती दिनमा हामीलाई सेवा केन्द्र खोल्नकै लागि पनि अनुमति नदिने अवस्था थियो । हामीलाई छुट्टै धर्म स्थापना गर्न लागेको भन्ने हिसाबले हेरिन्थ्यो ।

हाम्रो पोशाक पनि समाजमा नमिल्दो छ । सेतो पोशाक लगाएको नारीलाई समाजले स्वीकार्न गाह्रो हुने अवस्था बन्यो । साइतमा निस्केको मान्छे झट्ट सेतो कपडा लगाएको दिदिबहिनी देख्दा त्यो दिनको यात्रा नै साइत विग्रियो भनेर क्यान्सिल गर्ने अवस्थासमेत बन्यो । सुरुवाती दिनहरुमा समाजमा घुलमिल हुन निकै चुनौती थियो । अहिले सहज हुँदै आएको छ । र यो परिस्थिति बन्नु भनेको हाम्रो प्रयासले सार्थकता पाउँदैछ भन्ने हो ।

सवालः सेतो कपडा लगाउने कुरा गर्नुभयो, तपाईहरुको अभियानमा सहभागी भएका र अब हुन चाहेकाहरुले अन्य रङका कपडा लगाउन चाँही नपाउने हो ?

जवाफः होइन । सेतो मात्रै लगाउन पर्छ भन्ने होइन । सेतो शान्तिको प्रतिक हो । क्रान्तिको प्रतिक रातो र बैराग्यताको प्रतिक पहेँलो भने जस्तै हो । हाम्रो समाजमा शान्ति स्थापना र मानवीय सेवामा हात बढाउनुपर्छ सुन्दर सन्देश दिन हामीले सेतो कपडा लगाएका हौँ । छ वटा रङ घोल्यौँ भनेपनि निस्कने रङ सेतो नै हो । हरेक वर्ग, तह तप्कालाई स्वीकार गरेर घर व्यवहार स्वीकारेर पनि मनलाई शान्त राख्न सकिन्छ ।

पहिचान बनाउन आफुले धारण गरेको वस्त्रले भूमिका खेल्ने गर्दछ । हुन त आवरण भन्दा आचरण महत्वपूर्ण हो । तर, आचरण कार्यान्वयनका लागि आवरणको भूमिका उत्तीकै हुने भएकाले हामीले सेतो कपडामा जोड दिएका हौँ । तर, लगाउनै पर्छ भन्ने अनिवार्य भने हुँदैन । समाजलाई वास्तुकारक भएर भूमिका निर्वाह गर्न सेतो लगाइएको हो । पूरा समय इश्वरीय कार्यमा लगाउँछु भन्नेहरुले सेतो लगाउनुहुन्छ । अन्य रङका वस्त्र लगाएर पनि अभियानमा सहभागी हुन भने पाइन्छ ।

सवालः कुमार/कुमारी किन बस्नुपर्ने ? विवाह गर्न नपाइने भएपछि दोस्रो पुस्ताको स्थापना हुनै पाउँदैन नी, चरित्र उत्थान गर्ने भन्नुहुन्छ, यो पुस्ताको मात्रै होर ? तपाईहरुले घरबार हुनै नदिएको भन्ने आरोप पनि छ नी ?

जवाफः घर व्यवहार सम्हालेर, बालबच्चा पालेर यता लाग्दा यो महान अभियानमा पूरा समर्पित हुन सकिँदो रहेनछ भनेर विवाह नगरी बस्ने भनिएको हो । देश जनताको जीवनस्तर परिवर्तनका लागि सयौँ राजनीतिकज्ञहरुले आफ्नो घर,व्यवहार त्यागेर देशको हितको बाटोमा लागेजस्तै मानिसकलाई मानिसकै कमजोरीले आक्रान्त पारेको छ । यो विकारबाट मानिसलाई स्वतन्त्रताको युगमा लैजान हामी चाहान्छौँ ।
विवाह गर्ने/नगर्ने व्यक्तिको स्वतन्त्र इच्छा हो । कुनै बाध्यता वा अनिवार्य भन्ने छैन । जसले केन्द्रमा बसेर सेवा प्रवाह गरिरहनुभएको छ, जसले नेतृत्व गरिरहनुभएको छ, उहाँहरु चाँही पूरा समय दिन्छु भनेर विवाह नगरी बस्नुभएको छ । विवाह गरेका र घरबाटै आउने जाने पनि धेरै हुनुहुन्छ । तपाईले भनेजस्तै हामीले विभिन्न आरोप खेपेका थियौँ । तर, अहिले सबैले बुझ्दै जानुभएको छ । निरन्तर समाज हाम्रो परिकल्पना हो । दोस्रो पुस्ताको उत्पत्ती हुनै नदिने हाम्रो चाहाना होइन । यहाँ पूरा समर्पित हुने केही निश्चित व्यक्तिहरु मात्रै कुमार÷कुमारी रहने हो । विवाह गरेर, घर व्यवहार सम्हालेका मानिसहरु हामीसँगै हुनुहुन्छ । ध्यानयोगमा सहभागी भइरहनुभएको छ ।

अब यस्तो पनि हो, हामी आउनुभन्दा पहिला पनि एक्लै बस्नुभएका मानिसहरु पनि हुनुहुन्थ्यो । प्लेटफर्म पाएपछि सबै एकीकृत हुनु स्वभाविक पनि हो । झट्ट समूहलाई देख्दा त्यस्तो लागेको हो । यहाँ आउनेहरुले महसुस गर्नुभएको छ । घरमा कलह हुने, अशान्ति हुने भएपनि यहाँ आएपछि ध्यान योगको माध्ययमबाट त्यसको समाधान भएको हामी पाउँछौँ । हामी घरबार बिगार्न होइन, सुधार्न आएका हौँ । हामी मेलमिलाप एकता र शान्ति चाहान्ँछौँ, हाम्रो मुल उद्देश्य पनि त्यही हो ।

सवालः समाजलाई प्रेरणा मिल्ने वा सेवा पुग्ने गतिविधि के–के गरिरहनुभएको छ ?

जवाफः हामीले छोटो र लामो प्याकेज गरेर उहाँहरुलाई तालिम दिइरहेका छौँ । गृहिणीहरुलाई भान्सा सुधारको तालिम दिन्छौँ । विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेका छौँ । पुस्तकालय खोलेर जहाँ सम्भव हुन्छ, त्यँहा सेवा दिइरहेका छौँ । अहिले मकवानपुरको चिल्डे«न पार्क र मनहरीमा गरी २ वटा निशुल्क सार्वजनिक पुस्तकालय सञ्चालन गरेका छौँ ।

विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम गर्दै आएका छौँ । रक्तदान कार्यक्रम गर्दै आएका छौँ । हाम्रो संस्कार र परम्पराका कार्यक्रम गर्दै आएका छौँ । शिवरात्री, कृष्ण जन्माष्टमी, रक्षा बन्धनलगायत पर्वहरुलाई वैज्ञानिक सम्वत रुपमा यसको केवल मान्यता मात्रै नभएर आधार पनि बुझेर समाजमा यसलाई पुनः स्थापित गर्नको लागि मुल कुरा पूर्वीय दर्शनलाई पुन स्थापीत गर्नको निम्ति आफैँ नेतृत्व सम्हालेर हामी अघि बढेका छौँ ।

नियमित रुपमा हरेक दिन विहान ५ देखि ७ बजेसम्म यहाँ ध्यान राजयोगको अध्यास हुन्छ । नियमित रुपमा धार्मिक ग्रन्थको पाठ गरेर सु्नाउँछौँ । कयौँका बालबच्चाहरुले खासगरी जीवनलाई अलिकति व्यवस्थि त गर्न नसकेको अवस्थामा परामर्श दिने पनि गरिरहेका छौँ । यी सबै सेवा निशुल्क हो ।

सवालः सबै सेवा निशुल्क भनेपछि आर्थिक व्यवस्थापन कसरी गर्नुहुन्छ त ?

जवाफः हामीले तोकिएर कुनैपनि कुराको मुल्य राख्दा मान्छेको लिमिटेशन हुन्छ । ओपन राख्दा इच्छा हुनेले एउटै मान्छेले १० जनाले बराबर गर्न पनि सक्छ ।

गुप्त दान महादान भन्ने एउटा मान्छेलाई सन्देश दिएपछि दाहिने हातले दिएको देब्रे हातलाई पनि थाहा नहुने गरी जानकारी गराएपछि उहाँहरुले स्व इच्छाले दिनुहुन्छ । नियमित रुपमा साधना गर्न आउने हरुले कयौँ खर्च खटाएर हामीलाई दान गर्नुभएको छ । हामी बर्बाद हुनबाट जोगियौँ भन्ने थाहा पाएपछि उहाँहरु सहयोग गर्न इच्छा व्यक्त गर्नुहुन्छ । इच्छुक अन्य महानुभावहरुले पनि सहयोग गर्दै आउनुभएको छ । हाम्रो आम्दानी, साधना गर्न आउनुभएका दाताहरुबाटै हो । हामीले खर्चमा मितव्यहिता पनि अपनाएका छौँ ।

सवालः पूर्वीय दर्शनको पुनः स्थापना र शान्तिका लागि लागिरहनुभएको छ । कत्तिको सहज वा चुनौती को अनुभूति गर्नुभयो ?

जवाफः देशमा बेरोजगार बढेको अवस्थामा युवाहरुमा पश्चिमी मुलुकतिर जाने दौडधुप छ । त्यहाँ गएर आएपछि त्यहाँको संस्कार, संस्कृति र स्वतन्त्रता र व्यक्तिबादीताका कारणले पूर्वीय दर्शन धरापमा पर्दै गएको छ । सम्पतीको होडबाजीले हाम्रो संस्कार र संस्कृतिलाई थोरै धावा बोलिरहेको छ । जसले गर्दा हाम्रा पुर्वजहरुले सिकाएका नीति, नियम र संस्कारमाथि अहिलेको पुस्ताको ध्यानाकर्षण गराउन नसकिने अवस्था छ । जसले हाम्रो संस्कारमाथि नै ठूलो नैराश्यता बढ्ने खतरा छ ।

अहिलेको हाइ ग्लोबल कम्पिटिशनको कारणले हाम्रो सनातन संस्कृतिले सास फेर्न गाह्रो भएको अवस्था छ । त्यसकारण यसलाई थोरै भएपनि जोगाईराखौँ । गुमेको पुरातन संस्कृतिलाई समयको मागले पुनर्ताजकी गर्नेछ । सबैले फेरी महसुस गर्न थाल्नेछन् भन्ने सोचेर हामीले हाम्रो कर्तव्य निर्वाह गरिरहेका छौँ । समग्रमा अहिले पूर्वीय दर्शन धरापमा छ । पश्चिमाहरुले यसको महत्व बुझेर अभ्यासमा ल्याउन थालेका छन् । तर हामी आफ्नो मातृसंस्कृति त्यागी रहेका छौँ ।

सवालः सरकार र अन्य विभिन्न संघ संस्थाहरुसँगको सहकार्य कस्तो छ ?

जवाफः हामीलाई तीनै तहको सरकारबाट निकै सहयोग छ । हामीले उद्देश्य लैजान सक्यौँ, हाम्रो कामलाई लैजान सक्यौँ भने यत्तीको आस्थावान मान्छेहरुले कहिँ कतै तलमाथि गर्छन् भन्ने उहाँहरु कल्पना पनि गर्न सक्नुहुन्न । हामीले समाजमा प्रष्ट पारेका पनि छौँ । सय रुपैयाँ दिँदा हजार र हजार दिँदा लाखको काम गरेर देखाएका छौँ ।

यसबाट के देखिन्छ भने मान्छेहरुलाई बन्दुकले होइन आस्थाले तह लगाउने हो । आस्थावान मान्छेले तलमाथि गर्दैन भन्ने लागेर उहाँहरुले सहयोग गर्दै आउनुभएको छ । हामी सरकारप्रति कृतज्ञ छौँ ।

सवालः आगामी योजना के–के छन् ?

जवाफः समाजमा एक किसिमको नैतिक संकट परिरहेको अवस्थामा नैतिकताको विजारोपण गर्न हरेर वडामा एउटा ध्यान केन्द्र खोल्ने, जनचेतना जगाउने प्रशिक्षण कार्यक्रम गर्ने, स्वास्थ्यसंग सम्बन्धित कार्यक्रम गर्ने, सम्भव भएसम्म स्थानीय सरकारसँग मिलेर प्रत्येक वडामा भोजनालय खोल्ने, जेष्ठ नागरिकहरुको लागि सेवा पु्र्याउन के गर्न सकिन्छ भनेर अभिमुखिकरण कार्यक्रम संचालन गर्ने योजना छ । प्राकृतिक चिकित्सालयमा पनि ब्रम्हकुमारीले अग्रसरता लिनुपर्छकी भन्ने सोच बन्दै गएको छ ।

मानिसलाई गुमेको नैतिकतासँग जोड्ने, पूर्वीय दर्शनलाई पुनर्ताजकी गर्ने , आम्मा र परमात्माको ज्ञान दिने अभियानमा हामी छौँ । यसकै सिलसिलामा हामीले केन्द्रको शाखा पनि विस्तार गर्दै गएका छौँ । मकवानपुरमा ६ ठाउँमा आफ्नो घर जग्गा छ । बाँकी ४ ठाउँमा अरुको सहयोगले बसिरहेका छौँ । अब त्यहाँ पनि आफ्नै भवन बनाउने प्रयास गर्नेछौँ ।

सवालः अन्त्यमा केही भन्न चाहानुहुन्छ की ?

जवाफः देश रहे हामी रहन्छौँ । देश नरहे केही पनि रहँदैन । संस्कार र संस्कृति रहे हाम्रो गरिमा र महत्व रहन्छ । त्यसकारण हाम्रो सनानत संकार र संकृतिमाथि पश्चिमाबाट खतरा बढिरहेको अवस्थामा संकटमा वीउ जोगाउनुपर्छ, अप्ठेरो बेलामा संस्कारको अभाव भएको बेलामा हाम्रो संस्कारलाई जोगाउनुपर्छ ।

त्यसैले अब हामी फेरी आफ्नै स्थानमा उभिनको लागि खोला १२ वर्षमा फकन्छ भनेजस्तै अब हामी आफ्नै स्थानमा फर्कन जरुरी छ । गुमेको शक्ति पुन प्राप्त गर्नका लागि हामी व्यक्तिगत रुपमा जिम्मेवार हुनुपर्छ हामी जिम्मेवार भयौँ भने समाज र देश बन्छ । आत्मअनुशासन, आत्मसंयम, आफ्नो भूमिका र कर्तव्यबारे सचेत रहनुपर्छ । आफैंलाई नमूना बनाएर अघि बढ्न म सबैलाई हार्दिक अनुरोध गर्न चाहान्छु ।

अहिले ठूलो जमात खासगरी युवाहरु विदेशिरहेका छन् । यसको मूल कारण आफ्नो आत्मसम्मानमा कमि भएर हो । हामीले गर्न सक्छौँ भन्ने जनचेतना र उत्प्रेरणाको अभावले हो । बैदेशिक क्षेत्रमा हामी अघि बढेका छौँ । विदेश घुम्न जानुपर्छ । तर, स्वदेशमै केही गर्नुपर्छ भन्ने हामी सन्देश प्रवाह गर्न चाहान्छौँ । देश बनाउन युवा पक्ष जिम्मेवार छन् । त्यसका लागि आत्मबल आवश्यक छ । आत्मबल नहुँदा जहाँ गएपनि केही गर्न सकिँदैन । अब आफ्नो पहिचान बनाऔँ, म को हुँ भन्ने कुराको खोजी गरौँ भन्ने सन्देश दिन चाहान्छु । मेरो कुरा राख्ने अवसर दिनुभएकोमा तु खबरलाई पनि धन्यवाद दिन चाहान्छु ।