गौरीटारमा विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ तल्लो गौरीटारमा रहेको नमूना आईपिएम कृषक पाठशालामा भएको १६ हप्ते विषादीरहित तरकारी खेतिसम्बन्धी तालिमको समापन गरिएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भएको तालिमको शनिबार समापन गरिएको हो । हेटौंडा–६ का अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् पाठशालाकी अध्यक्ष शोभा खतिवडाको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा पाठशालाकी कोषाध्यक्ष मञ्जु चौलागाईंले पाठशाला अवधिभरको गतिविधि समेटेर प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा उत्कृष्ट तीन समूहलाई पुरस्कृत समेत गरिएको थियो ।
कार्यक्रममा हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतम, उपमहानगरपालिकाका शिक्षा एवम् आर्थिक महाशाखा प्रमुख गंगाधर रिमाल, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, आईपिएम सहजकर्ता घमराज तिमल्सिना, सहभागीहरूको तर्फबाट नम्रता दाहाल, रूद्रप्रसाद खतिवडा, पाठशालाकी सचिव शर्मिला दंगाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौंडा–६ का वडा सदस्य विजय पौडेल र लेखराज ढकाल, उपमहानगरपालिकाकी कृषि शाखा प्रमुख गंगा चौलागाईं, सहकारीका प्रतिनिधि, सामाजिक, धार्मिक एवं शैक्षिक संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
तालिममा २५ जना कृषकहरूको सहभागिता रहेको थियो ।