सर्वोच्चद्वारा देउवा विपक्षी दलको नेता बन्न नमिल्नेसम्बन्धी रिट खारेज
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यता नदिन मागसहित दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराई र डा.मनोज शर्माको संयुक्त इजलासले रिट खारेज हुने फैसला सुनाएको हो ।
प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्रीका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिएपछि अधिवक्ता विमल पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।
देउवालाई विपक्षी दलको नेता कायम गर्ने सम्बन्धमा संसद् सचिवालयले दिएको पत्र गैरकानुनी रहेको दाबी रिटमा लिइएको थियो ।
संविधानको धारा ७६ (२) अनुसार पुस १० मा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले सोही धाराको उपधारा (४) अनुसार कांग्रेसको समेत समर्थनमा विश्वासको मत पाएका थिए ।
अधिवक्ता पोखरेलले दिएको रिटमा यसअघि सर्वोच्चका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले कांग्रेस सभापति देउवासहितका विपक्षीसँग लिखित जवाफ माग गरेको थियो । लिखित जवाफपछि भएको अन्तिम सुनुवाईका क्रममा सर्वोच्चको संयुक्त इजलासले आइतबार रिट खारेज गरिदिएको हो ।