मधेशमा आज जुडशीतल मनाइँदै
जनकपुरधाम । नव वर्षको स्वागतमा मिथिलासहित मधेश प्रदेशमा हर्षोल्लासका साथ आज जुडशीतल पर्व मनाइँदै छ । प्रत्येक वर्षको बेशाख २ गतेका दिन बिहानैदेखि गाउँगाउँमा आफूभन्दा सानाको शिरमा (टाउको) जल थपथपाएर आर्शीवाद दिने गरिन्छ ।
बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल राखेर जल सिंचित गरी आर्शीवाद दिँदै पर्व मनाउने चलन छ । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।
नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।
आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरिन्छ । घर–घरमा विशेष परिकार बनाएर खाने चलन पनि यस पर्वमा रहेको छ ।