नेपाल–भारत सिमा नाका बन्द गरिने
बारा । बाराको क्षेत्र नम्बर २ मा यही बैशाख १० मा हुने उप–निर्वाचनलाई लक्षित गरी नेपाल–भारत सिमा नाका बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले नेपाल–भारत सिमा नाका बन्द गरिने जानकारी गराएको हो । प्रशासनले एक सूचना जारी गर्दै ८ बैशाख शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजेसम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको छ ।
यस्तै, मतदानको कार्य सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ ।
बारा क्षेत्र नम्बर २ भित्र पर्ने हुलाकी राजमार्ग लगायत सम्पूर्ण राजमार्गमा बैशाख ९ गते राति १२ बजेबाट १० गते साँझ ७ बजे सम्मका लागि एम्बुलेन्स, दुध तथा औषधि बोकेका सवारी, खानेपानीका ट्यांकर, दमकल, दुरसंचार सेवा, शव बाहन, अस्पताल सेवा, सुरक्षा निकायका सवारी साधनहरु तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा, कुटनितिक नियोगका सवारी र अनुमति प्राप्तबाहेकका सवारी संचालनमा रोक लगाइएको बारा प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।