जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम निःशुल्क भरिने

तु खबर संवाददाता
२०८० बैशाख १४,बिहीबार १६:४९

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आजदेखि नागरिक सहायता कक्षाबाट निःशुल्क सेवा सुरु गरेको छ । प्रशासनले आजदेखि निःशुल्क रुपमा राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने कार्य सुरु गरेको हो ।

प्रशासनले आफ्नो कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउने उद्देश्यले सेवाग्राही आफैले भरी पेश गर्नुपर्ने राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम अब निःशुल्क भरिदिने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार निःशुल्क सेवा प्रवाहको आज पहिलो दिन ४० जनाभन्दा बढीले सेवा लिएका छन् । साथै साधारण निवेदन लेखन सम्बन्धी सेवा पनि प्रवाह गरिनेछ । ती सबै सेवा प्रशासन भवनको कोठा नम्वर २० बाट प्रवाह हुने उनले बताए ।

यसअघि हेटौंडाभित्र रहेका विभिन्न स्थानमा शुल्क तिरेर मात्र सर्वसाधरणहरुले फारम भर्दै आएका थिए ।

यस्तै, यसअघिबाटै सुचारु भइरहेको टोकन सिस्टम (टिकट) आजबाट थप व्यवस्थित बनाइ विद्युतीय मेसिनरीबाट प्रवाह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।

साथै सेवाग्राहीको सहजताको लागि हुलाक टिकट समेत उपलब्ध गराइने प्रशासनले जनाएको छ ।