हेटौंडा जेसिजको आयोजनामा पब्लिक स्पिकिङ प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा जेसिजको आयोजनामा पब्लिक स्पिकिङ्ग कार्यक्रम हुने भएको छ ।
युवाहरुको नेतृत्व विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जेसिज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार वर्तौलाले जानकारी दिए ।
यसै कार्यक्रम अन्तरगतको पहिलो चरणको प्रतियोगिता जेठ ६ गते, दोस्रो जेठ १३, तेस्रो जेठ १५, चौथो जेठ २० र पाँचौँ जेठ २७ गते हुने उनले बताए ।
प्रतियोगिता व्यवस्थापनका लागि क्रमश स्याम दाहाल, रमेश पराजुली, अन्जेश ढकाल, रोशन सुवेदी र संग्राम राईलाई कार्यक्रम संयोजक तोकिएको छ ।
प्रतियोगिताका लागि फरक–फरक विषय निर्धारण गरी सार्वजनिक गरिएको छ । भर्चुअल प्रविधिबाट हुने प्रतियोगितामा १६ देखि ४० वर्ष उमेर समूहका युवाहरु सहभागी हुन सक्नेछन् ।
प्रत्येक चरणको कार्यक्रमबाट उत्कृष्ट २/२ जना छनौट गरी पुनः छनौट भएकाहरुबीच प्रतिस्पर्धा गराई विजेता घोषणा गरिने र सो प्रतियोगिता इन्टरनेटमार्फत् प्रत्येक्ष प्रसारण गरिने आयोजकले जनाएको छ ।
फाइनल प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रो स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष बर्तौलाले बताए ।
प्रतियोगिताको निर्णायकको रुपमा घनश्याम घिमिरे, निरा शर्मा, निमेश निखिल र दिपकराज मिश्र रहने उनले बताए ।
प्रतियोगितामा सहभागी हुन जेठ ५ गतेसम्म अनलाइन फर्म भर्न सकिने वा जेसिजको कार्यालयमा सम्पर्क गर्न सकिने जनाइएको छ । हेटौंडा जेसिजले वर्ष २०२० देखि पब्लिक स्पिकिङ प्रतियोगिता आयोजना गर्दै आएको छ ।