नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहीलाई कडा कारबाहीको माग
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरको मोर्चा संगठनहरुले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको घटनामा संलग्न गिरोहीलाई सरकारले कडा कारबाही गर्नुपर्ने माग गरेको छ ।
मोर्चा संगठनले बुधबार एक कार्यक्रमबीच मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै उक्त घटनामा संलग्न गिरोहीलाई हदैसम्मको कानूनी कारबाही गर्न माग गरेको हो ।
नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहाल, सचिव ध्रुव भुजेल, युवा संघका किरण बल, कविन पन्त, अनेरास्ववियुका किशोर टन्डन, समाजवादी प्रेस संगठनका रामकुमार एलनलगायतको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
सो क्रममा उनीहरुले देशका कतिपय उच्च पदस्थ नेता, उपप्रधानमन्त्री, मन्त्री, सांसद तथा मन्त्रालयका सचिवहरुले नै देशका नागरिकहरुलाई अर्को देशको नक्कली नागरिक बनाई बिक्री गर्नु मानव बेचविखनको कार्य मात्र नभई राष्ट्रप्रतिको धोखा र राष्ट्रद्रोही कार्य भएको बताए ।
सरकारको कामले यतिबेला निराश जनता केही मात्रामा आशावादी बनेको बताउँदै संगठनले यसका लागि नेपाल सरकारलाई धन्यवाद समेत दिएको छ । उक्त प्रकरणमा संलग्न रहेका व्यक्तिहरुलाई कानूनी काबाहीको दायरामा ल्याउन आजसम्म सरकारले राखेको अडान, कार्य र सक्रियताले आम नागरिकको बिचमा सकारात्मक सन्देश प्रवाह भएको उक्त ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा यस कुकर्मबाट राष्ट्रको प्रतिष्ठामा गम्भीर क्षति भएको उल्लेख गर्दै यस प्रकरणमा संलग्न पूर्व उपप्रधानमन्त्री, मन्त्री, कतिपय दलका उच्चपदस्थ नेता, बहालवाला सांसद, उच्चपदस्थ कर्मचारीलगायतका व्यक्तिहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने काम गरेको उल्लेख गरिएको छ ।
विगतका धेरै भ्रष्टाचार काण्ड यत्तिकै बिचैमा सामसुम पारिएका हुँदा आमजनताका मनमनमा कतै यो संगीन मुद्दालाई पनि कमजोर पार्ने काम त भैरहेको छैन भन्ने गम्भीर आशंका जन्मिएको एकीकृत समाजवादी निकट मोर्चाहरुको भनाई छ । ज्ञापनपत्रमा भनिएको छ, ‘भ्रष्टाचारमा संलग्नहरु जतिसुकै शक्तिशाली भए पनि कावाहीमा पर्छन् भन्ने देखिएमा मात्रै निराश जनतामा नयाँ आशा र विश्वास पलाउने छ ।’