वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघ्यो

तु खबर संवाददाता
२०८० जेष्ठ ७,आईतवार १६:३४
file-photo

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा वैदेशिक रोजगारीका लागि विदेश जानेको संख्या साढे ६ लाख नाघेको छ ।

आर्थिक वर्षको गत साउन महिनादेखि बैशाख महिनासम्म नयाँ श्रम स्वीकृति लिएर एवम् पुरानो स्वीकृति नवीकरण गरेर वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ६० हजार २५५ पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार, बैशाखसम्म ४ लाख २१ हजार २७९ जनाले अन्तिम (नयाँ) श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत) लिएका छन् । यो अवधिमा २ लाख ४४ हजार ९९६ जनाले पुनः श्रम स्वीकृति लिएर विदेश उडेका छन् ।

विभागको तथ्यांकअनुसार बैशाख महिनामा मलेसियाका लागि १४ हजार ६३७ जना, कतारका लागि १० हजार २३० जना, युनाइटेड अरब इमिरेट्समा मात्र ९ हजार ४८३ जना, साउदी अरबमा ८ हजार ६८१ जनाले स्वीकृति लिएका छन् ।

यसैगरी, कोरिया जान २ हजार ५७४ जना, कुवेतका लागि २ हजार ११० जना, रोमानियामा १ हजार ६०६, जापानमा ८१७, बहराइनमा ५०५, पोल्याण्डमा ६३५, साइप्रसमा ४६० ओमानमा ३५० र मकाउमा ३२३ जनाले स्वीकृति लिएका छन् ।