कुलेखानी जलविद्युत् आयोजना नै विद्युत् महशुल नतिर्नेको कालोसूचीमा
मकवानपुर । कुलेखानी जलविद्युत् आयोजना विद्युत् महशुल नतिर्नेको कालोसूचीमा परेको छ । पटक–पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेको भन्दै नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्रले सार्वजनिक गरेको वितरण अनुसार, कुलेखानी जलविद्युत आयोजना पनि कालोसूचीमा परेको हो ।
कुलेखानी आयोजनाले प्राधिकरणलाई कूल १ लाख ९ हजार ६ सय ४५ रुपैयाँ तिर्न बाँकी देखाइएको छ । जसमध्ये कुलेखानी दोस्रोको ४ हजार ८५६ रुपैयाँ र कुलेखानी तेस्रोको १ लाख ४ हजार ७८९ रुपैयाँ तिर्न बाँकी देखाएको छ ।
विद्युत प्राधिकारण हेटौंडाले आफ्नो क्षेत्राधिकारभित्रका ५४२ जना ग्राहक कालोसूचीमा रहेका छन् । जसमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेका छन् ।
कालोसूचीमा परेकाबाट केन्द्रले रु ९२ लाख ४७ हजार ८८८ असुल गर्नुपर्ने छ । केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म बक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।
यसैगरी, प्राधिकरणले ३ महिनाभन्दा बढी बाँकी बक्यौता रहेका ६४ जना ग्राहकबाट २१ लाख २६ हजार ६५ रुपैयाँ नतिरेको खण्डमा तत्काल लाइन काट्ने चेतावनी दिएको छ । लाइन कट्टा केन्द्रीय सिस्टमबाटै हुने गरिएकाले समयमै बाँकी बक्यौता तिर्न प्राधिकरणले सूचना गरेको छ ।