बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
आज बस्ने बैठकमा विनियोजित विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
उक्त विधेयक मंगलबारको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २८, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।